गृहपृष्ठ उडान अनुमतिविपरीत कार्गो ढुवानी, उडिरहेको हेलिकप्टरबाट पटक-पटक खस्छ सामान
उडान अनुमतिविपरीत कार्गो ढुवानी, उडिरहेको हेलिकप्टरबाट पटक-पटक खस्छ सामान
सोलुखुम्बुको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकप्टरले नियमविपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर छ । कैलाश र सिम्रिक एयरका हेलिकप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्थानीय सुरक्षा निकायसँगको प्रत्यक्ष समन्वयमा मात्रै उडान भर्ने गरी उडान अनुमति दिएको भए पनि त्यसलाई वास्तै नगरी आफूखुसी उडान भर्ने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय बबरमहल काठमाडौंले सिम्रिक एयरलाई २०७६ साल मंसिर १६ गते लेखेको चलानी नं १०७८ को पत्र र २०७६ मंसिर २० गते कैलाश हेलिकप्टर सर्भिसेजलाई लेखेको चलानी नं ११०७ को पत्रमा स्थानीय सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने उल्लेख छ ।
प्रशासनलाई जानकारी छैन
नेपाल नागरिक उड्डयन प्राधिकरणले सर्तसहित उडान अनुमति दिएको भए पनि हेलिकप्टर कम्पनीले कानुनको खिल्ली उडाएका छन् । सदरमुकाम सल्लेरीदेखि करिब दुई घण्टाको पैदल यात्रामा पुग्न सकिने सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुबाट ती हेलिकप्टरले निर्बाध रुपमा सामान ढुवानी गरिरहेका छन् । दिनहुँ सामग्री ढुवानी गरिरहेका ती हेलिकप्टरका विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी नभएको बताइन्छ ।
प्रजिअ वेदनिधि खनालले त्यस विषयमा जानकारी नभएको भन्दै सुरक्षा जाँच नगरी मनोमानी उडान भर्दा प्रतिबन्धित सामग्री ओसारपसार हुन सक्ने सम्भावना बढी रहेको बताए । नियमकानून भए पनि त्यसको बेवास्ता गर्दै विगतका वर्षहरुमा पनि यसैगरी सामान ढुवानी हुने गरेको स्थानीयवासी बताउँछन् । केही वर्षदेखि काठमाडौँबाट टाक्सिन्दुसम्म सिधा सडक सञ्चालन भएकाले त्यहाँसम्म गाडीमा सामान ढुवानी गर्ने र हेलिकप्टरमार्फत माथिल्लो क्षेत्र लैजाने क्रम बढेको छ ।
समन्वयमा नै उडान भरेको कम्पनीको दाबी
प्रजिअ खनालले उडानबारे जानकारी नभएको बताइरहँदा हेलिकप्टर कम्पनीले भने स्थानीय प्रशासनसँगको समन्वयमा नै सामान ढुवानी गरिरहेको दाबी गरेको छ । कैलाश एयरका जनरल म्यानेजर प्रतापजंग पाण्डेले प्रशासनसँगको समन्वयमा नै उडान गरिरहेको बताए ।
तत्काल छलफल गर्छौं : प्राधिकरण
उडान अनुमति जारी गर्ने तथा नियमन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने सोलुखुम्बुमा भइरहेको उडानबारे बोल्न चाहेनन् । उनले जिल्लाकै प्राधिकरण प्रमुख जानकार रहेको भन्दै जवाफ दिनबाट पञ्छिन खोजे । नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले भने कम्पनीले समान ढुवानीबारे आफूसँग कुनै समन्वय नगरेको बताए । कम्पनीले माथिको निर्णय भन्दै आफूखुसी उडान भर्ने गरेको उनको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी एवं उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने सोलुखुम्बुमा भइरहेको उडानबारे आफ्नो ध्यानाकर्षण भएको बताए । स्थानीय सुरक्षा निकायसँग समन्वय नगरी उडान भर्नु तथा सामान ढुवानी गर्नु कम्पनीको लापरवाही भएको भन्दै उनले यसबारे केही दिनभित्रै बैठक डाकेर आवश्यक निर्देशन दिने र कमजोरी पाइएमा कारबाही गर्ने समेत आश्वासन दिए ।
उडिरहेका हेलिकप्टरबाट पटक–पटक सामान खस्छ
सुरक्षा जाँचबिना जथाभावी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था गरेरमात्रै उडान गर्ने/गराउने भन्ने निर्णय गरेको भए पनि त्यो लागू हुन नसक्दा समस्या हुने गरेको छ । गत भदौ १९ गते बिहीबार अपराह्न उडिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरक लगायतका सामग्री खसेका थिए ।
फाप्लु विमानस्थलबाट उडेको उक्त हेलिकप्टरले केही मिनेटमै सोलुदूधकुण्ड नगरपालिका–२ फेरामा उक्त सामग्री खसालेको भन्दै स्थानीयवासीले प्रशासनको ध्यानकर्षणसमेत गराएका थिए । पटक पटक उडिरहेका हेलिकप्टरबाट सामग्री खस्दासमेत नियमनकारी निकाय मौन बसेको स्थानीयवासी छिरिङ शेर्पाको भनाइ छ । खुम्बु क्षेत्रमा सहज सामान ढुवानीको विकल्पका रुपमा हवाई सेवा नै भए पनि नियम पालना भने गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ ।
(भोजराज कार्की/रासस)
प्रकाशित समय १३:५६ बजे

















