गृहपृष्ठ यतीलोकमा युगान्तर

यतीलोकमा युगान्तर

Byanga-Binod_NewsKarobar

यतीलोकमा अचानक हंगामा भयो, यतीहरू हस्याङ-फस्याङ गरेर यताउता दौडन थाले । कालापत्थर पनि हिँउले ढाकिन थालेपछि ‘हाइबरनेसन’ मोडमा गएर यतीहरू पनि गुफाबाट निस्केर डुक्रन थाले । विशेष यति भेला बोलाइयो ।

यतीपतिले गम्भीर भएर सोधे- ‘प्रिय यतीगणहरू ! के भयो ? यतिबेला यतीलोक किन अशान्त ?’
यतीहरूका गणपतिले भने- ‘महाराज, खत्तम भो, बर्बाद भो । यतीलोकमुनि बस्ने नेपालीहरूले हुनसम्म हाम्रो नामका दुरुपयोग गरे, ज-जसले मौका पाए, उ-उसले खल्ती भरे ।’
‘नहिचकाईकन यथाथर्थ बताऊ’ -यतीपतिले भने ।

‘महाराज ! हाम्रा नाममा धेरैले कल्पनाका कथा जोडेर अनेकन् किम्बदन्ती ठोक्दै थिए, त्योसम्म त पचेकै थियो । हाम्रा नाममा ब्रान्डै बनाएर बेपार गरेकै थिए, त्यो पनि पचेकै थियो, अब त यती भन्नेबित्तीकै राज्य चलाउनेसँग मिलेमतो गरेर खर्लप्पै राज्यका मूल स्रोत पचाउने भन्ने पो बुझ्न थालियो,’ -यती गणपतिले एकै स्वासमा बेलिबिस्तार लगाए ।

‘हम्…..’ यतीपति बोलेनन् ।

‘छोड्नु हुन्न सरकार’, ‘यतीलोकमा विद्रोह हुन्छ’ भन्दाभन्दै यतीसभामा कल्याङमल्याङ सुरु भयो ।
‘शान्त…’ -यतीपतिले गम्भीर स्वरमा आदेश दिए ।

‘यति र उति भन्दाभन्दै यतीकै नाममा निकुञ्ज क्षेत्रदेखि दरबारबारमार्गमा अर्बौंका जग्गासमेत कौडीका दाममा चिलिम फर्काए महाराज,’ गणपतिले बेहोरा बिसाए ।

‘यतीका खेती त दह्रै गरेछन् नेपालमा, भेटी कसले कति पाए ? रोटी कसले कति चपाए ?’ -यतीपतिले सोधे ।

‘त्यसका खोज गर्न अनुसन्धान आयोग बनाउनुपर्छ महाराजा, यतिकै नाममा व्यापार गर्नेहरूको प्रतिनिधि राखेर उनीहरूकै स्पोन्सरमा आयोग गराउँदै छौं महाराज,’ गणपतिले जवाफ फर्काए ।

‘त्यस्तो कुरा त भन्न भएन हजुर । खाली पाखामा पैसा कमाउन भाँडामा लगाएको हो खासमा,’ ढोकामा बस्ने मुठमुन्द्रेले जवाफ फर्कायो, ‘त्यसलाई राष्ट्रिय निकुञ्ज भन्नु नै गलत हो । नाफाका लागि व्यापार गर्नुपर्छ हजुर । व्यापार गर्नेले पेटी फुकाएर भेटी चढाएपछि सब गलतसलत सही हुन्छ हजुर ।’

‘यसले नेपालको कति खती हुन्छ ?’ -यतीपतिले सोधे ।

‘खती न रति हुँदैन जति हुन्छ, जसले खती हुन्छ भन्छ, त्यसकै मति ठीक छैन महाराज । बरु सगरमाथा राष्ट्रिय निकुञ्ज भनेर त्यसलाई विश्वकै संरक्षित क्षेत्र भनेर घोषणा गर्ने ती युनेस्कोका विदेशीलाई समातेर थुन्नुपर्छ । नेपालमा व्यवसाय गराउने वातावरण बिगारेका हुन्,’ अर्की यतीस्वरी चिर्बिराइन् ।

‘यो हाम्रो पालको हुँदै होइन, अहिले त भाका मिलाएर दूत बनाउने समय थप्ने र आफ्ना लागि कोष जुटाउनेमात्र काम भएको हो । सबै नचाहिँदो हल्ला गरेका खबरबाजहरले हो,’ घोडा स्याहार्दै गरेको अर्को बलबन्त यतीले बेहोरा बिसायो ।

‘खासमा अहिले यतीहरूलाई योगिनी दशा लागेको देखियो, योगराजले यज्ञ लगाइ यो दशा मन्छाउने आदेश दिन्छु,’ यतीपतिले निष्कर्ष सुनाए ।

‘अब हामी यती पनि हिमालमा लुकेर बस्ने होइन । योगी नरहरिनाथले छुस्स लेखे, बिगफुटदेखि के-के जाति भन्ने फिलिममा यतीलाई राक्षसका रूपमा देखाएर यस्तो भा’को । खासमा हामी यती त सोझा प्राणी, सबैलाई मिलाएर खुसी बनाएर चलेकै हौं । अब हिमालमा बसेरमात्र भएन, दरबार मार्गमा व्यापारिक मल खोलेरै बस्नुपर्छ । खबरबाजले लेख्दै गर्छन्, हामी हिसाब मिलाउँदै गनुपर्छ ।’

यतीधिराज कि जय
यतीलोक कामय होस्
यतीधन, मूलधन
यतीको समृद्धि, लोककै समृद्धि
यतीयुग आउनैपर्छ
यतीधर्म, युगधर्म
यतीपुरुष, युगपुरुष
यतीदारहरूले नारा लगाए ।

प्रकाशित समय १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु