गृहपृष्ठ गभर्नर नेपालको हस्ताक्षरमा साढे ६ खर्बका नोट
गभर्नर नेपालको हस्ताक्षरमा साढे ६ खर्बका नोट
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल आउँदो चैत महिनामा सकिँदै छ, नयाँ गभर्नरका लागि अहिले राष्ट्र बैंकका केही पूर्वकार्यकारी निर्देशकहरू र केही अर्थशास्त्रीहरू सत्तारुढ दलका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को घर-आँगनमा गणेश परिक्रमा गर्दैै छन् ।
यतिखेर आममानिसलाई चासो हुनसक्छ, गभर्नर नेपालले आफ्नो पाँच वर्षे कार्यकालमा कति रुपैयाँबराबरको नोटमा सही गरे होलान् ? गभर्नर पदको मुख्य आकर्षण वित्तीय तथा मौद्रिक नियामक निकायको प्रमुख हुनु त हुँदै हो, विशेष कुरा भनेको चाहिँ नोटमा हस्ताक्षर गर्ने अवसर नै हो ।
गभर्नर डा. नेपालको कार्यकालमा मात्रै ५ खर्ब ५२ अर्ब रुपैयाँबराबरको नोट छापिएको छ र चालू आर्थिक वर्षमै आपूर्ति हुने गरी गरिएको टेन्डर आह्वानसमेत जोड्दा नेपालको हस्ताक्षरमा साढे ६ खर्ब रुपैयाँबराबरको नोट चलनचल्तीमा रहने देखिएको छ ।
गभर्नर नेपालको कार्यकाल सुरु भएको पहिलो वर्ष आर्थिक वर्ष २०७२/७३ मा १ खर्ब २६ अर्ब २० करोड रुपैयाँबराबरको नोट छापिएकोमा, आव ०७३/७४ मा २ खर्ब २४ अर्ब ३० करोड रुपैयाँबराबरको नोट छपाइको अर्डर भएको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, आव ०७४/७५ मा १ खर्ब २४ अर्ब ५९ करोड रुपैयाँबराबर र आव ०७५/७६ मा ७६ अर्ब ५१ करोड ७७ लाख रुपैयाँबराबरको नयाँ नोट छापिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागको तथ्यांकले देखाएको छ ।
चलनचल्तीमा नयाँ नोट बढी रहनु भनेको अर्थतन्त्रमा क्रियाशीलता बढेको संकेत भएको गभर्नर नेपालले हालै एक सार्वजनिक कार्यक्रममा बताएका थिए । उनले आफ्नो कार्यकालमा नोट छपाइको लागत आधाले घटेको दाबी गर्दै आएका छन् । ‘नेपालमा अहिले प्रतिस्पर्धात्मक ढंगले नोट छपाइको कार्य विदेशका स्थापित सेक्युरिटी प्रिन्टिङ प्रेसहरूलाई दिइने गरिएको छ । अहिले नोट छपाइ र त्यसको ढुवानीको लागत विगतको तुलनामा आधाभन्दा कम सस्तो भएको छ,’ गभर्नर नेपालले भने ।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार आव २०७४/७५ मा नोट छपाइका लागि ९४ करोड ७४ लाख रुपैयाँ खर्च भएकोमा आव २०७३/७४ मा लागि ९३ करोड ८७ लाख रुपैयाँ खर्च भएको थियो ।
नेपाल राष्ट्र बैंक स्थापना हुनुपूर्व श्री ५ त्रिभुवनको पालामा २००२ साल असोज २ गतेदेखि सदर मुलुकी खानाबाट जारी नोटहरूमा तत्कालीन खजाञ्चीहरू जनकराज, भरतराज र नरेन्द्रराजले हस्ताक्षर गरेका थिए । २०१३ सालमा राष्ट्र बैंकको स्थापना भएपछि प्रथम गभर्नर हिमालय शमशेर जबरादेखि हालका गभर्नर डा. चिरञ्जीवी नेपालसम्म १५ जनाले गभर्नरको कार्यकाल पूरा गरिसकेका छन्, यीमध्ये कामु गभर्नरका रुपमा कृष्णबहादुर मानन्धरले नोटमा हस्ताक्षर गरेका थिए ।
राष्ट्र बैंकका अनुसार २०७६ असोजसम्म ५ खर्ब ६३ अर्ब २५ करोड ८३ लाख रुपैयाँबराबरको नोट निष्कासन भएकोमा ५ खर्ब ४९ अर्ब ९८ करोड रुपैयाँबराबरको नोट अहिले चलनचल्तीमा छन् । राष्ट्र बैंकले नोट छाप्नेबित्तिकै बजारमा भने पठाउँदैन । अर्थतन्त्रको आवश्यकताअनुसार आफ्नो स्टकमा रहेका नोट बजारमा चलनचल्तीका लागि पठाउने गर्छ । गत असोज मसान्तसम्म राष्ट्र बैंकमा १३ अर्ब ९७ करोड रुपैयाँबराबरका नोट स्टकमा थिए । नोटको औसत आयु ३ देखि ६ वर्षसम्म हुने भए पनि राष्ट्र बैंकले औसतमा ३ वर्षमा नयाँ नोट प्रचलनमा पठाउने गर्छ ।
सबै नयाँ डिजाइनमा
गभर्नर नेपालको कार्यकालमा जारी भएका सबै नोटहरूलाई ‘रिडिजाइन’ गरिएको छ । नयाँ डिजाइनका नोटमा आधिकारिक रूपमै नेपालका सम्पदा र वन्यजन्तुलाई पुनर्चित्रण गरिएका छन् ।
राष्ट्र बैंकका अनुसार अहिले रु. ५ को नोटमा काष्ठमण्डप र हुम्लाको जंगली याकको चित्र छ भने रु. १० को नोटमा चाँगुनारायण र शुक्लाफाँटा वन्यजन्तु आरक्षको कृष्णसारको चित्र छ । यस्तै, रु. २० को नोटमा शुक्लाफाँटाकै दुईवटा हरिणको, रु. ५० को नोटमा हिउँचितुवाको, रु. १०० को नोटमा बाबु छोड्वा गैंडाको, रु. ५०० को नोटमा बर्दियाको बाघ र रु. १००० को नोटमा चितवनको जुम्ल्याह हात्तीको चित्र राखिएको छ ।
‘राजा टाउके’ नोट लगभग विस्थापित
२०६७ साल चैतमा राष्ट्र बैंकले राजाका मुहार चित्र अंकित नोट प्रचलनबाट हटाउने निर्णय लिएयता क्रमैसँगै त्यस्ता नोटहरू बजारबाट खिचेर नयाँ डिजाइनका नोट पठाइँदै आइएको छ । यस्ता नोटहरू बजारबाट लगभग प्रतिस्थापित भइसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले बताए ।
करिब पाँच खर्बका झुत्रा नोट जलाइयो
मुद्रा व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा बजारबाट ४ खर्ब ९४ अर्ब ६९ लाख रुपैयाँबराबरका झुत्रा नोट बजारबाट खिचेर जलाइएको छ । जलाइएका नोटका बदलामा राष्ट्र बैंकले नयाँ सिरिजका नोट जारी गर्ने गर्छ ।
स्वदेशमा सिक्का नछापिने
नेपालको आफ्नै टक्सारबाट सिक्का छाप्न बन्द गरिएको छ । सुन्धारास्थित टक्सार विभागलाई धरहरा पार्क बनाउने नाममा अहिले बबरमहलस्थित नेपाल औषधि लिमिटेडको प्रांगणमा विस्थापित गरिएको छ ।
छपाइपछि सिक्का भण्डारणका लागि देखिएको समस्या र यसको बढ्दो लागतका कारण राष्ट्र बैंकले रु. १ र २ का सिक्का स्वदेशमा नछाप्ने निर्णय लिएको छ । राष्ट्र बैंकका अधिकारीहरूका अनुसार अब यी दरका सिक्का विदेशमा छापिनेछ । टक्सारले भने स्मारिका सिक्का र सरकारका तक्माहरूमात्र छाप्नेछ ।
प्रकाशित समय ११:०० बजे

















