गृहपृष्ठ मूल्य वृद्धिदर तीन वर्षयताकै उच्च
मूल्य वृद्धिदर तीन वर्षयताकै उच्च
शोधनान्तर बचतमा, विदेश जानेले गर्ने खर्च घट्यो
चालू आर्थिक वर्षको साउनदेखि चुलिँदै गएको मूल्य वृद्धिदर पुस मसान्तमा आइपुग्दा अझै अकासिएको छ । खाद्य वस्तुको मूल्यमा भइरहेको वृद्धिले समग्र मूल्य वृद्धिदरलाई उचालेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस महिनामा वार्षिक मुद्रास्फीति दर ६.८२ प्रतिशत पुगेको छ । यो विगत तीन वर्षयताकै उच्च मूल्यवृद्धि दर हो ।
अर्ध-वार्षिक अवधिको उपभोक्ता मुद्रास्फीति भने ६.४१ प्रतिशत छ । यो गत वर्षभन्दा झन्डै २ प्रतिशत बढी हो ।
यसमध्ये खाद्य तथा पेय पदार्थको उपभोक्ता मूल्य सूचकांक १०.२१ प्रतिशतले बढेको छ । काठमाडौं र तराई क्षेत्रमा मुद्रास्फीति दर क्रमसः ७.२४ र ७.४६ छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनाको आर्थिक समीक्षाअनुसार समग्र थोक मूल्य र उपभोक्ता मूल्य सूचकांक दुवैमा लगातार वृद्धि भइरहेको छ । यो लगातार मूल्यवृद्धि भइसकेको सूचक हो ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल उपसमूहको मूल्यवृद्धि उच्च रहेको र गैर–खाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ ।
शोधनान्तर बचतमा
मुलुकको बाह्य व्यापारमा आएको संकुचनसँगै मुलुकको शोधनान्तर स्थिति बचतमा गएको छ । मुलुकमा भित्रने र बाहिरिने रकमबीचको अन्तर २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा छ ।
गत वर्षको यही समयमा शोधनान्तर स्थिति .६३ अर्ब ६८ करोडले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ६ महिनासम्ममा ५५ करोड ९५ लाखले घाटामा रहेकोमा यस वर्ष २३ करोड ५३ लाखले बचतमा छ ।
पहिलो ६ महिनामा आयात ४.० प्रतिशतले घटेको र निर्यात २६.१ प्रतिशतले बढ्दा त्यसले विदेशी मुद्राका प्राप्ति र खर्चका अन्तरमा सकारात्मक प्रभाव परेको हो ।
विदेशी मुद्राको प्राप्तितर्फ सेवा आय भने ४ अर्ब ४६ करोड रूपैयाँले घाटामा छ । यद्यपि, यस वर्षको सेवा आय घाटा गत वर्ष यही अवधिभन्दा कम हो । गत वर्ष यही अवधिमा सेवा आय ९ अर्ब ४५ करोड रुपैयाँले घाटामा थियो ।
सेवा खाता अन्तर्गत भ्रमण आय १४.२ प्रतिशतले बढेर ४२ अर्ब ७४ करोड रूपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको ६ महिनामा यस्तो आय ३७ अर्ब ४२ करोड रूपैयाँ थियो ।
विदेश जानेले गर्ने खर्च घट्यो
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विदेश जाने नेपालीले भ्रमणका लागि गर्ने खर्च निकै घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा विदेश जाने नेपालीले ४७ अर्ब ९९ करोड रूपैयाँ खर्च गरेकोमा यस वर्ष ३७ अर्ब ५९ करोड रूपैयाँमात्र खर्च गरेका छन् ।
यसमध्ये शिक्षातर्फको खर्च गत वर्ष २५ अर्ब ५९ करोड रूपैयाँ रहेकोमा यस वर्ष १७ अर्ब ९५ करोड रूपैयाँमा झरेको छ । यसले अध्ययनका लागि बिदेशिने नेपालीहरूका संख्यामा गिरावट आएको देखाउँछ ।
प्रकाशित समय १८:३५ बजे

















