गृहपृष्ठ ‘कोरोनाले विश्व अर्थतन्त्र मन्दीमा, सन्तुलनमा ल्याउन २५ खर्ब डलर आवश्यक’
‘कोरोनाले विश्व अर्थतन्त्र मन्दीमा, सन्तुलनमा ल्याउन २५ खर्ब डलर आवश्यक’
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोनाभाइरस (कोभिड‑१९) संक्रमणका कारण मन्दीमा गएको विश्व अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । अनलाइन प्रेस वार्तामा शुक्रबार आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले भनिन्, ‘विश्व आर्थिक गतिविधि ठप्प भएका कारण सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब अमेरिकी डलर आवश्यक पर्छ ।’
आईएमएफ प्रमुख क्रिस्टालिनाले विश्वभर फैलिएको कोरोना महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको बताइन् । यो आर्थिक मन्दी सन् २००९ मा देखिएको मन्दीभन्दा पनि खराब हुने आईएमएफको अनुमान छ । ‘विश्व अर्थतन्त्र ठूलो संकटतर्फ अघि बढेको छ,’ उनले भनिन्, ‘यसबाट पार पाउन विशेषतः विकसित मुलुकले ठूलो आर्थिक सहायता कोष ल्याउनुपर्छ ।’
कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनका कारण विश्वका अधिकांश मुलुकहरुको अर्थतन्त्र ठप्प भइसकेको छ । पर्यटन क्षेत्र डामाडोल भइसकेको छ भने बेरोजगारीदर उच्च रूपमा बढ्न देखिसकेको छ । अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न विश्वका धेरै मुलुकले आर्थिक सहायता योजना ल्याएका छन् तर कोरोनाको विश्वव्यापी प्रभावसामु उनीहरूको आर्थिक प्याकेज नगन्य हुने भन्दै आईएमएफले ठूलो रुपमा आर्थिक सहायता कोष ल्याउनुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित समय ११:०३ बजे

















