गृहपृष्ठ कोरोनाका असरले नेपालमा युवा बेरोजगारी दोब्बर

कोरोनाका असरले नेपालमा युवा बेरोजगारी दोब्बर

'लकडाउन पुस्ता' सिर्जना गर्ने जोखिम

Rojgari_NewsKarobar

विश्वव्यापी स्वास्थ्य संकटका बनेको कोरोना भाइरस (कोभिड-१९)को महामारीले गर्दा नेपालमा युवा बेरोजगारी दोब्बर भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र एसियाली विकास बैंक (एडीबी)ले संयुक्त रुपमा सार्वजनिक गरेको ‘एसिया-प्रशान्त क्षेत्रमा कोभिड-१९ का कारण युवा रोजगारी संकटसँग सामना’ विषयक प्रतिवेदनले छोटो अवधिका परिदृष्यमा युवा बेरोजगारी ४.८ प्रतिशत र लामो अवधिका परिदृष्यमा ६.१ प्रतिशत पुग्ने बताएको छ ।

प्रतिवेदनअनुसार गत वर्ष (सन् २०१९)मा नेपालमा युवा बेरोजगारी दर २.३ प्रतिशत छ । छोटो अवधिमै संक्रमण विस्तार नियन्त्रणका अवस्थामा कम्तिमा १ लाख २५ हजार युवाले र यो नियन्त्रण हुन लामो समय लाग्ने अवस्थामा १ लाख ८६ हजार युवाले पूर्णकालीन रोजगारी गुमाउने प्रतिवेदनमा उल्लेख छ ।

यो सन् २०२० मा २.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने परिदृष्यमा गरिएको प्रक्षेपण हो । सरकारले नै यस वर्ष वृद्धिदर १ प्रतिशतभन्दा कम रहने स्विकार गरिसकेको छ ।

प्रतिवेदनले कोरोना भाइरस महामारीका कारण २५ वर्षभन्दा माथिका उमेरका वयस्कका तुलनामा १५ देखि २४ वर्षका युवालाई बढी कठिन संकटमा परेको भन्दै त्यसले गर्दा ती युवाका लागि  आर्थिक र सामाजिक लागतमा दीर्घकालीन असर पार्ने जोखिम औंल्याएको छ ।

कोभिड-१९ को संकट आइलाग्नुभन्दा अगाडि नै एसिया–प्रशान्त क्षेत्रका युवाले श्रम बजारमा चुनौतीको सामना गरिरहेका थिए, जसका कारण यस क्षेत्रका युवाहरूमा उच्च बेरोजगारी दरसँगै काम र विद्यालयबाट दुवैबाट अलग राखेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा विद्यालयबाट निस्केर श्रम बजारमा प्रवेश गर्ने दर उच्च छ ।

प्रतिवेदनअनुसार कोभिड-१९ को संकटपूर्व यस क्षेत्रका पाँचमध्ये चार युवा श्रमिक अनौपचारिक रोजगारीमा संलग्न थिए, यो वयस्कको तुलनामा उच्च हो । हरेक चारमध्ये एक जना श्रमिक चरम वा मध्यम गरिबीको स्थितिमा बाँचिरहेका थिए।

कोभिड-१९ महामारी र त्यसबाट बच्न अवलम्बन गरिएको घरबन्दीका कारण अनौपचारिक क्षेत्रका श्रमिकहरू सर्वाधिक प्रभावित भएका छन् भने त्यसको प्रभावले हरेक चारमध्ये एक जना फेरि चरम गरिबीको रेखामुनि धकेलिएका छन् ।

प्रतिवेदनले सन् २०२० मा एसिया–प्रशान्तका १३ देशहरूमा १ करोडदेखि १ करोड ५० लाख युवाले रोजगारी (पूर्णकालीक समयका अनुपातमा) गुमाउने अनुमान गरेको छ । नेपालबाहेक कम्बोडिया, फिजी, पाकिस्तान, फिलिपिन्स र थाइल्यान्डमा युवा बेरोजगारी दर कम्तिमा २०१२ को अनुमानमा दोब्बर हुने प्रक्षेपण गरेको छ ।

यस क्षेत्रका युवाले ठूलो श्रम बजारमा अवरोध तथा वयस्कको तुलनामा रोजगारी गुमाउनु परेको मुख्य कारणका रूपमा तीमध्ये झन्डै आधा (१० करोडभन्दा बढी) संकटमा परेका चार क्षेत्र- थोक तथा खुद्रा व्यापार; मर्मत, निर्माण; भाडा र व्यवसायजन्य सेवा तथा आवास र खाद्य सेवामा कार्यरत रहनुलाई औंल्याइएको छ ।

अत्यधिक प्रभावित भएक यी चारमध्ये तीन क्षेत्रमा महिलाहरूको सहभागिता निकै उल्लेख्य थियो, विशेष गरी आवास र खाद्य सेवामा महिलाको सहभागिता बढी छ ।

प्रतिवेदनअनुसार कोभिड-१९ का कारण सबैभन्दा बढी निर्माण, खुद्रा व्यापार, होटल तथा रेष्टुँरा र कृषिबाट नेपाली युवाले रोजगारी गुमाएका छन् ।

यो संकटका कारण रोजगारी गुमाउने कुल युवामध्ये २१.७ प्रतिशत निर्माण क्षेत्रका, १३.५ प्रतिशत खुद्रा व्यापार क्षेत्रका, १२.८ प्रतिशत होटल तथा रेष्टुँरा क्षेत्रका, १२.७ प्रतिशत कृषि क्षेत्रका, ४.५ प्रतिशत कपडा तथा कपडाजन्य उत्पादन क्षेत्रका र ७.९ प्रतिशत अन्य सेवाका क्षेत्रका युवा रहेको प्रतिवेदनमा उल्लेख छ । यसमा स्थलगत यातायातबाट रोजगारी गुमाउनेको विवरण भने उल्लेख छैन ।

प्रतिवेदनले काम गर्ने समय र आम्दानमा कमीसहितको रोजगारीको अवरोध, ज्यालादारी र स्वरोजगार दुवैले रोजगारी गुमाउने, उनीहरूको शिक्षा र प्रशिक्षणमा अवरोध तथा विद्यालयबाट काममा जाने प्रक्रियामा अवरोधसँगै आर्थिक मन्दीका समयमा रोजगारीका लागि अगाडि बढ्नमा अवरोध सिर्जनालगायतका कारणले युवा रोजगारी प्रभावित भएको औंल्याएको छ ।

‘युवाहरूका लागि संकटपूर्वका चुनौती कोभिड-१९ को प्रकोपपछि अझ विस्तार भएन छ। यदि पर्याप्त ध्यान दिइएन भने यसले ‘लकडाउन पुस्ता’ सिर्जना गर्ने हाम्रो डर छ, जसले आगामी कैयन वर्षसम्म यस संकटको भार महसुस गर्न सक्छ, ’ प्रतिवेदनकी मूल लेखिका तथा आईएलओको क्षेत्रीय आर्थिक र सामाजिक विश्लेषण शाखा प्रमुख सारा एल्डर भन्छिन् ।

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु