गृहपृष्ठ मानहुँकोटले मन तान्यो, सूर्योदय हेर्न दैनिक हजारौं
मानहुँकोटले मन तान्यो, सूर्योदय हेर्न दैनिक हजारौं
सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका- ५, मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको संख्या पनि उल्लेख्य रहने गरेको छ ।
चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै चर्चा भएपछि बिहानै मानहुँकोट आइपुगेको जानकारी दिए । ‘बिहानको समयमा सूर्योदय र कुहिरोको दृश्यले मनै लोभ्याउँछ,’ उनले भने, ‘मानहुँकोट साँच्चिकै मनमोहक रहेछ ।’ पोखरा र चितवनको बीच भागमा रहेको र राजमार्गबाट पनि नजिक भएकाले मानहुँकोटको भविष्य उज्ज्वल रहेको थापाले बताए ।
चितवनबाटै आइपुगेका विनेश थापाले मानहुँकोटबाट बिहानको समयमा देखिने दृश्य सुन्दर र मनमोहक रहेको सुनाए । ‘भिडियोमा मात्रै देखेकोभन्दा आफ्नै आँखाले हेरेपछि अझ मोहित भएँ,’ उनले थपे, ‘सामाजिक सञ्जालमा यसको जति चर्चा छ, त्यति नै आकर्षणयुक्त रहेछ यो ठाउँ ।’
पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको व्यास नगरपालिका- ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

‘दैनिक करिब एक हजार पर्यटक मानहुँकोट आएका छन्,’ उनले भने, ‘सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको छ ।’ मानहुँकोटको प्रचारप्रसारका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको भनाइ छ । ‘मानहुँको पर्यटनले एउटा गति लिइसकेको छ, यसको विकासका लागि थप योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस भएको छ,’ न्यौपानेले भने ।
पूर्वाधार निर्माण सुरु
मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि सुरु भएको छ । नगरपालिकाले ३६ लाख ५० हजार रूपैयाँको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण सुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ । मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य यहाँबाट देखिन्छ ।

फोहरमैला सरसफाइ
फोहरमैला व्यवस्थापनका लागि बुधबारबाटै मानहुँकोटमा एक जना कर्मचारी राख्ने तयारी गरिएको छ । मानहुँकोटमा दैनिक पर्यटक बढेसँगै फोहर पनि जथाभावी रुपमा फालिएको छ । मानहुँकोट आएर फोहर नगरिदिन र फोहरमैला निश्चित ठाउँमा राखेर व्यवस्थापन गरिदिन वडाध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् । ‘मानहुँकोट घुम्न आउनुस्, तर जथाभावीरुपमा फोहर गरेर यसको सौन्दर्य घटाउने काम नगरिदिनुहोस्,’ वडाध्यक्ष श्रेष्ठले भने । व्यास नगरपालिकाले मंगलबार उक्त ठाउँमा सरसफाइसमेत गरेको छ । सरसफाइका लागि नगरपालिकाका प्रमुख न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, वडाध्यक्ष श्रेष्ठ मानहुँकोट पुगेका थिए । (रासस)
प्रकाशित समय १५:४६ बजे

















