गृहपृष्ठ तीन महिनामै ११ अर्बको मोबाइल आयात

तीन महिनामै ११ अर्बको मोबाइल आयात

आयातको पहिलो सूचीमा मोबाइल फोन !

Mobile_NewsKarobar

देशभित्र आयात हुने वस्तुहरूको सूचीमा अचम्मैसँग मोबाइल फोनले पहिलो स्थान ओगट्न थालेको छ, विगतका वर्षहरूमा डिजेलसहित पेट्रोलियम पदार्थ अग्रस्थानमा रहने गरेको थियो । मोबाइलको आयात तीव्र गतिमा बढेर आयातको पहिलो स्थानमा पर्न थालेपनि अर्थसम्बद्ध अधिकारीहरूले पनि आश्चर्य व्यक्त गरेका छन् ।

अर्थमन्त्रालयले प्रकासित गरेको चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनाको आर्थिक समीक्षाअनुसार सर्वाधिक आयात भएका १० वस्तुमध्ये मोबाइल पहिलो स्थानमा छ ।

चालू आर्थिक वर्षको असोज महिनासम्म ११ अर्ब १० करोड रूपैयाँ मूल्यबराबरको मोबाइल फोन आयात भएको छ, यो गत आर्थिक वर्षको समान अवधिका तुलनामा ५४.४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्ष २०७६/७७मा असोजसम्म ७ अर्ब १९ करोड रूपैयाँ मूल्यबराबरको मोबाइल फोन आयात भएको थियो वर्षभरिमा १८ अर्ब १७ करोड रूपैयाँ मूल्यबराबरको मोबाइल आयात भएको थियो ।

गत वर्ष चैतदेखि लगाइएको लकडाउनपछि देशभरि अनलाइन शिक्षा अनिवार्यजस्तै गरिएसँगै मोबाइलको बिक्री ह्वात्तै बढेको छ । मोबाइलका विक्रेताहरूले गत साउनयता मोबाइल फोनको माग र व्यापार बढेको बताएका छन् ।

अहिले नेपाली बजारमा ५ हजारका सस्ता (बजेट फोन)देखि झन्डै डेढ लाख रूपैयाँसम्म पर्ने स्मार्टफोनको व्यापार हुने गरेको छ । यसमध्ये मध्यम मूल्य तह (१५ देखि २० हजार रूपैयाँ)सम्मका मोबाइलको बढी माग रहेको व्यापारीहरू बताउँछन् ।

त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १९ अर्ब २७ करोड ७० लाख रूपैयाँ मूल्यबराबरको मोबाइल आयात भएको र आर्थिक वर्ष २०७४/७५ मा सर्वाधिक धेरै २४ अर्ब ८७ करोड रूपैयाँ मूल्यबराबरको मोबाइल आयात भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ ।

संख्यात्मक आधारमा हेर्दा आव २०७४/७५ मा ६२ लाख २३ हजार ६६५ वटा मोबाइल फोन सेट आयात भएकोमा २०७५/७६मा केही घटेर ४२ लाख ७५ हजार ५१८ वटा आयात भयो भने आव ०७६/७७ मा ४३ लाख ६५ हजार ९९० वटा मोबाइल फोन सेट आयात भयो । यस्तै चालू आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्म १५ लाख २ हजार वटा मोबाइल फोन सेट आयात भएका छन् ।

नेपालमा चीन, भारत र भियतनामबाट मुख्य रूपमा मोबाइल फोन सेट आयात हुने गरेकोमा सानो अनुपातमा मलेसिया, कोरिया, यूएई, अमेरिकालगायत ३० देशबाट मोबाइल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालमा दीपक मल्होत्राको आईएमएस समूह, सांघाइ समूह (त्रिवेणी ग्रुप)को टेलिसेल नेपाल, जालान ग्रुपको टेलिटक प्राइभेट लिमिटेड मुख्य मोबाइल आयातकर्ता र विक्रेता हुन् । यीबाहेक करिब एक दर्जन विक्रेताले विभिन्न ब्रान्डका मोबाइलको आधिकारिक विक्रेताका रूपमा मोबाइल आयात र व्यापार गर्दै आएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल नेपालभरि १ करोड १२ लाख २ हजार २२१ जनाले थ्रीजी प्रविधिमा आधारित मोबाइल इन्टरनेट चलाउँछन् भने ५५ लाख १६ हजार ४५४ जनाले फोरजी प्रविधिमा आधारित मोबाइल इन्टरनेट चलाउँछन् । इभीडीओसमेत गरी मोबाइलमा आधारित इन्टरनेट चलाउनेको संख्या २ करोड २८ लाख ८९ हजार ७२७ जना पुगेको छ ।

यिनलाई स्मार्टफोन चलाउने संख्या मान्दा वार्षिक औसतमा ४२ लाखका हाराहारीमा नेपालमा स्मार्टफोन बिक्री भइरहेको देखिन्छ । वितेको तीन वर्षमै १ करोड ६३ लाख ६७ हजार थान मोबाइल फोनसेट आयात भइसकेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

तयारी फोनबाहेक वार्षिक अढाइ अर्ब रूपैयाँबराबरको मोबाइलका स्पेयर पार्टस् पनि आयात हुने गरेको छ भने पछिल्लो समयमा स्मार्टवाचको पनि आयात बढेको छ । गत आर्थिक वर्ष २०७६/७७ भरि जम्मा १८ लाख ७४ हजार रूपैयाँ मूल्यबराबरको स्मार्टवाच आयात भएकोमा चालू आवको पहिलो तीन महिनामा ६९ लाख ४७ हजार रूपैयाँ मूल्यबराबरको स्मार्टफोन आयात भएको छ ।

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु