गृहपृष्ठ विकास बजेट खर्चिन नसकेपछि तात्यो सरकार
विकास बजेट खर्चिन नसकेपछि तात्यो सरकार
चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिना बित्दासमेत विकास कार्यमा जाने पुँजीगत खर्च बढ्न नसकेपछि अर्थमन्त्रालयले चासो देखाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार बिहीबार पुस २२ गतेसम्म पुँजीगत खर्च जम्मा साढे १२ प्रतिशतमात्रै छ ।
चालू आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब रूपैयाँको बजेट ल्याइएकोमा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ विनियोजन गरिएको थियो, तर बिहीबारसम्म पुँजीगततर्फ जम्मा ४३ अर्ब ९४ करोड रूपैयाँमात्र खर्च भएको छ ।
विकाससँग सम्बन्धित मन्त्रालयहरू (लाइन मन्त्रालयकै) पुँजीगत खर्च क्षमता कमजोर देखिएको हालै गरिएको चौमासिक समीक्षाबाट देखिएको थियो ।
‘चालू आर्थिक वर्ष २०७७/७८ को हालसम्मको अवधिममा विनियोजित पुँजीगत बजेटको करिब १२ प्रतिशतमात्र बजेट खर्च भइ न्यून वित्तीय प्रगति भएको हुँदा पुँजीगत खर्च गर्ने सम्पूर्ण निकायहरूलाई उपलब्ध स्रोत, साधन, मेसिन औजार तथा जनशक्तिका परिचालन गरी बाँकी अवधिमा उल्लेख्य मात्रामा पुँजीगत खर्च गर्नेगरि वार्षिक लक्ष्य तथा प्रगति हासिल गर्न जिल्ला स्थित विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूलाई पहल गर्नु-गराउनु’ भन्दै महालेखा नियन्त्रणको कार्यालयले जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयहरूलाई परिपत्र गरेको छ ।
कोभिड-१९ महामारीका कारणले चालू आर्थिक वर्षमा विकास निर्माणका कामहरू अगाडि बढाउन कठिनाइ रहेको हालै विभिन्न मन्त्रालयले आयोजना गरेका मन्त्रालयस्तरीय बजेट समीक्षामा स्वीकार गरिएको थियो ।
‘पहिलो ६ महिनाका ट्रेन्ड हेर्दा पुँजीगत खर्च लक्ष्यभन्दा आधामात्रै हुने अवस्था छ, बजेटको मध्यावधि समीक्षाका क्रममा खर्च लक्ष्य पुनरावलोकन गरिने छ,’ अर्थमन्त्रालयका एक अधिकारी भन्छन् ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर वैशाखमा चुनाव घोषणा गरिसकिएकाले त्यसले विकास खर्च प्रभावित हुने मन्त्रालयको निष्कर्ष छ ।
प्रकाशित समय १६:४१ बजे

















