गृहपृष्ठ अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा आफैं लिन सकिने
अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा आफैं लिन सकिने
नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी सुविधा सेवाग्राही आफैंले लिन सक्ने भएका छन् । टेलिकमले असार १ गतेदेखि सेवाग्राहीलाई यो सुविधा दिएको हो ।
आईएसडी सुविधा लिन जीएसएम मोबाइलका लागि ‘0000’ र सीडीएमए मोबाइलका लागि ‘1234’ डिफल्ट पिन नम्बर हुनेछ । जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले #331*PIN# डायल गर्नुपर्नेछ भने सेवा बन्द गर्नका लागि *331*PIN# डायल गर्नुपर्नेछ । साथै आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#331# डायल गर्नु पर्नेछ ।
सेवाग्राहीले सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी इच्छाअनुसारको पिन नम्बर राख्न सक्नेछन् । पिन नम्बर परिवर्तन गर्नका लागि **03*331*old_PIN*newPIN*newPIN# डायल गर्नुपर्नेछ ।
साथै सीडीएमए पोस्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *81 डायल गर्नुपर्नेछ । आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *82 डायल गर्नुपर्नेछ भने सेवा बन्द गर्नका लागि *820 डायल गर्नुपर्नेछ ।
जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइलमा योभन्दा पहिले पनि आईएसडी सुविधा लिन सकिने व्यवस्था थियो । तर, त्यसका लागि कार्यालयमै सम्पर्क राख्नुपर्थ्यो । आफ्नै मोबाइलबाट नम्बर डायल गरी सो सुविधा लिन सक्ने भएपछि सेवाग्राहीलाई सहज हुने विश्वास रहेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
प्रकाशित समय १४:०३ बजे