गृहपृष्ठ ब्याजदरले थलियो सेयर बजार

ब्याजदरले थलियो सेयर बजार

मंगलबार करिब ९ अंकको गिरावट, कारोबार २० करोडमा सीमित

सेयर कर्जाको चपेटामा परेका लगानीकर्ता किन्नभन्दा बेच्न बढी अग्रसर भएपछि मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजारमा बिक्री चाप बढेसँगै कारोबार रकम पनि २० करोड हाराहारीमा सीमित भएको छ । सोमबार पनि १९ करोड रूपैयाँबराबरको मात्र सेयर किनबेच भएको थियो ।

सेयर बजारले सकारात्मक दिशा लिन नसक्नुलार्इ विश्लेषकहरूले सेयर कर्जाकै प्रभाव भएको बताएका छन् । ‘विगतमा करिब ७० प्रतिशत सेयर कर्जा र ३० प्रतिशत नगद कारोबारमा सेयर खरिद भइरहेकोमा अहिले ठीकविपरीत ७० प्रतिशत नगद र ३० प्रतिशत कर्जा लिएर सेयर किनबेच भइरहेको छ,’ सेयर बजार विश्लेषक रवीन्द्र भट्टरार्इले भने, ‘त्यसको सीधा प्रभाव बजारमा देखिएको छ ।’

अहिले बैंकहरूले निक्षेपमा उच्च ब्याजदर दिइरहेका छन् । त्यसले कर्जाको ब्याजदर पनि उचालिएको छ । निक्षेपमै ब्याज बढी पाउने भएपछि लगानीकर्ता सेयर बजारमा जोखिम मोल्न चाहँदैनन् । सेयर बजार र ब्याजदरबीच सधैं विपरीत सम्बन्ध हुन्छ । अर्थात्, ब्याजदर बढ्दा सेयर कारोबार घट्छ, ब्याजदर घट्दा सेयर कारोबार बढ्छ ।

लामो समयदेखि बजार सुस्ताउनुको अर्को मुख्य कारण भने सेयर संख्या वृद्धि नै हो । दुर्इ वर्षअघिको तुलनामा अहिले करिब चार गुणाले सेयर संख्या बढेको छ । बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिका कारण ठूलो मात्रामा जारी भएको हकप्रद र बोनस, आर्इपीओ तथा एफपीओका कारण बजारमा चार गुणाभन्दा बढी सेयर संख्या बढेको छ तर लगानीकर्ताको संख्या भने बढ्न सकेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सहप्रवक्ता मुरारी पराजुलीका अनुसार दुर्इ वर्षअघिको तुलनामा सेयर लगानीकर्ताको संख्या खासै बढेको छैन, त्यही १० लाख हाराहारी छ ।

विश्लेषक भट्टरार्इ सेयर बजार अझ केही महिना सुस्ताउने बताउँछन् । पुँजीवृद्धिको अनुपातमा कम्पनीको नाफा बढ्न नसक्नु र सेयरको संख्या बढ्नुले तुलनात्मक रुपमा लगानीकर्ताले पाउने लाभांश अघिल्लो वर्षभन्दा घट्ने भएकाले पनि मूल्य ओरालो लागेको उनको भनाइ छ । ‘यसको असर लगानीकर्ताको मानसिकतामा पर्न गई निराशा उत्पन्न हुने र बजार थप नकारात्मक बन्दै जाने स्थिति आउँछ,’ उनले भने, ‘बजारमा सुधार आउन ब्याजदर नै घट्नुपर्छ ।’

मंगलबार पनि सेयर बजार खुलेदेखि नै लगातार ओरालो लाग्यो । बजार बन्द हुँदा ८.९७ अंकले घटेर १२२६.१८ अंकमा सीमित भएको छ । एक सय ५७ कम्पनीको कारोबार भएको बजारमा २० करोड ८४ लाखको सेयर किनबेच भयो । बजार लगातार घट्दा कुल बजार पुँजीकरण पनि १४ खर्ब ४६ अर्बमा खुम्चिएको छ ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु