गृहपृष्ठ बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने : खतिवडा
बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने : खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले यस्तो बताएका हुन् । उनले बजेट कार्यान्वयनका साझेदारहरू प्रदेश र स्थानीय तह पनि भएकाले उनीहरुको पनि क्षमता बढाउँदै केन्द्रले परिपूरकको भूमिका निर्वाह गर्ने जानकारी दिए ।
राजश्वबाट प्रशस्त साधन र स्रोत तलका तहमा पठाइएको र सोही आधारमा योजना पनि हस्तान्तरण गरिएको उनको भनाई रहेको थियो । उनले बजेटमा पहिलोपटक आठ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको जिकिर गरे ।
बजेटले ज्येष्ठ नागरिकका लागि बीमा सुविधा र बालबालिकका लागि बाल संरक्षण कार्यक्रम, किसान, कर्मचारीलगायत सबैलाई समेटेको उनले दावी गरे । यस्तै कार्यक्रमबाट अपेक्षित आर्थिक वृद्धि हुने उनको भनाई रहेको थियो ।
उनले राजश्व पनि नबढाउने, विदेशी सहयोग पनि नलिने अनि खर्च जति पनि गर्ने भन्ने अर्थशास्त्रको नियम हुन नसक्ने बताए । बजारको मूल्यवृद्धि पनि बजेटसँग सम्बन्धित नभई एकाधिकार कायम गर्न खोज्नेले फैलाएको हल्ला मात्र भएको टिप्पणी गरे ।
अर्थमन्त्री खतिवडाले जनसंख्या र भूगोलमा कुनै एकको मात्र आधार नलिइ दुबै बीचको सन्तुलन मिलाई बजेट विनियोजन गरिएको जानकारी दिए । केही संस्थानमा विनियोजन भएको बजेट पनि संस्थागत सुदृढीकरणका लागि भएको उनको दावी छ ।
पूँजीगत खर्चभन्दा चालु खर्च बढी भएको भन्ने सांसदको प्रश्नमा उनले चालु खर्चभित्र पनि केही बजेटको प्रकृति पूँजीगत भएको उल्लेख गरे । कर प्रणालीका सम्बन्धमा प्रगतिशील कर प्रणाली शुरु गरिएको जानकारी दिए ।
भ्रष्टाचार नियन्त्रणमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको दावी गरेका उनले नीति तथा कार्यक्रममा आएका कतिपय कार्यक्रम बजेटमा देखिएनन् भन्ने सन्दर्भमा त्यस्ता विषय प्रदेश र स्थानीय तहमा रहेको जिकिर गरे । भूकम्पपछिको पुनः निर्माणका काम सन्तोषजनक रुपमा अघि बढेको र सामाजिक सुरक्षाका विषयमा पनि आगामी दिन थप काम गर्दै जाने उनको प्रतिबद्धता थियो । कर्मचारीका लागि प्रोत्साहन स्वरूप थप भत्ताको व्यवस्था भएको, व्यक्तिगत करमा धेरै वृद्धि नगरिएको र विलाशिताका सामानमा मात्र केही मात्रामा कर बढेको उनको भनाई थियो ।
प्रतिनिधि सभाको वैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।
(रासस)
प्रकाशित समय १६:१२ बजे

















