गृहपृष्ठ दुई चिया उद्योगविरुद्ध मुद्दा दायर
दुई चिया उद्योगविरुद्ध मुद्दा दायर
न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्वारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो ।
सो मुद्दा खाद्य निरीक्षक दिनेश ढुंगानाले जिल्ला प्रशासन कार्यालय झापामा दायर गरेका हुन् । नियमित तथा विशेष बजार अनुगमनका क्रममा सम्बन्धित उद्योगको उत्पादित चिया परीक्षण गर्दा न्यून गुणस्तर पाइएपछि मुद्दा दायर गरिएको क्षेत्रीय खाद्य कार्यालयका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए । नेपाल चिया विकास निगम झापा र हरि टी इन्डस्ट्रिज प्रालि भद्रपुर झापा विरुद्ध मुद्दा दायर गरिएको हो ।
कार्यालयका अनुसार चिया विकास निगमद्वारा उत्पादित टोकला चिया न्यून गुणस्तर रहेको छ भने हरि टी इन्डस्ट्रिजद्वारा उत्पादित चियाको प्याकेटमा लेबल विवरण अपूर्ण रहेको छ ।
(रासस)
प्रकाशित समय १७:२४ बजे

















