गृहपृष्ठ नेरुडे लघुवित्तको ‘ट्याबलेट बैंकिङ’ धरानबाट सुरु
नेरुडे लघुवित्तको ‘ट्याबलेट बैंकिङ’ धरानबाट सुरु
लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ‘ट्यावलेट बैंकिङ’लाई नेरुडे लघुवित्तले धरानबाट सुरु गरेको छ । यूके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत उक्त कार्यक्रम सुरु गरिएको हो । नेपालमा २९ जिल्लामा ७९ शाखा उपशाखा कार्यालय रहेको लघुवित्तले सुनसरीको धरान शाखा कार्यालयबाट पहिलोपटक ‘ट्याबलेट बैंकिङ’ कार्यक्रम सुरु गरेको जनाएको छ ।
धरान-१७ को रेल्वे लाइनमा स्थित सप्तरंगी नेरुडे महिला केन्द्रमा उद्घाटन कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले उक्त प्रविधिले आफ्ना ग्राहक सदस्यलाई सहज सेवा प्रदान गर्ने बताए । उनले इन्टरनेट नभएका स्थानबाट अफलाइनमार्फत पनि सेवा दिन सकिने भएकाले ग्राहकलाई सहजरुपले सेवा उपलब्ध गराउन उक्त प्रविधिको प्रयोग गरिएको जानकारी दिए ।
प्रबन्ध सञ्चालक अज्र्यालले सूचना र प्रविधिको विकाससँगै नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न जरुरी रहेको र कारोबारलाई पारदर्शी, जवाफदेही बनाई ग्राहक वर्गको विश्वास जित्न सकिने बताए । यो परियोजनाअन्तर्गत सात जिल्लाका १९ शाखामा कार्यक्रम सञ्चालन भइरहेको नरुडे लघुवित्तले जनाएको छ ।
ट्याबलेट बैंकिङ सेवामार्फत सबै सदस्यले कारोबार हुनेबित्तिकै रसिद हातमा पाउने धरान शाखाका प्रमुख सम्झना लामाले बताइन् । कार्यक्रममा स्थानीय फूलमाया राईले खुसी व्यक्त गर्दै बिजुलीको बिल जस्तै नेरुडेले पनि रसिद दिन थालेकाले कारोबारको विवरण पाउन सहज हुने बताइन् ।
प्रकाशित समय १३:३९ बजे

















