गृहपृष्ठ पोखराको पर्यटनमा नयाँ ‘प्रोडक्ट’ थप

पोखराको पर्यटनमा नयाँ ‘प्रोडक्ट’ थप

प्रतियोगिताको नारा ‘रन फर लभ’

game-pokhara-newskarobar

पोखराको पर्यटनमा नयाँ ‘प्रोडक्ट’ थपिने भएको छ । पोखरा उद्योग वाणिज्य संघले चीनको कुन्मिन नगरको सहयोगमा पोखरामा ‘फस्र्ट हिमालयन माउन्टेन क्रस कन्ट्री च्यालेन्ज’ प्रतियोगिता आयोजना गर्ने भएको हो । पोखरा उद्योग वाणिज्य संघको यो अभियानमा पश्चिमाञ्चल होटल संघले पनि साथ दिएको छ ।

४२ किलोमिटरको दूरी दौड, साइक्लिङ र पौडी समावेश हुने यो प्रतियोगिता पोखराको लेकसाइडबाट सुरु भई मट्टिखान कुभिण्डे, फुस्रेखोला, डेभिसफल हुँदै लेकसाइडमै आएर अन्त्य हुनेछ । यो दौडमा एउटा समूहमा तीन जना सहभागी हुनेछन्, त्यसमा एकजना महिला अनिवार्य गरिएको छ । तीन जनाको समूहमा दुई जना महिला र एक जना पुरुष पनि हुन सक्ने छन् । कुन्मिन माउन्टेनियरिङ एसोसिएसनका विज्ञहरुले लामो स्थलगत अध्ययनपछि दौडका लागि यो क्षेत्र चयन गरेका हुन् ।

सेप्टेम्बरमा आयोजना हुने यो प्रतियोगिताको नारा नै ‘रन फर लभ’ राखिएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा चीनको कुन्मिनबाट मात्रै करिब ४० खेलाडी सहभागी हुनेछन् भने कुन्मिनसँग भगिनी सम्बन्ध रहेका विश्वका अन्य ४० ठाउँबाट पनि खेलाडी आउनेछन् ।

‘पोखराको पर्यटन प्रवद्र्धनका हामीले थालेको यो सानो प्रयास हो,’ सम्झौतामा हस्ताक्षरका लागि शनिबार आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने, ‘पोखराको पर्यटन प्रवद्र्धनका लागि यो प्रतियोगिता कोसेढुंगा सावित हुनेछ ।’ प्रतियोगिताले पोखराकोे पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने उनको विश्वास छ । त्यस्तै, कुन्मिन माउन्टेनियरिङ एसोसिएसनका अध्यक्ष झाङ सि ले यो प्रंतियोगिताले नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ हुने विचार राखे ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले पोखराको पर्यटन प्रवद्र्धनका लागि यो प्रतियोगितालाई निरन्तरता दिइनुपर्ने बताए । संघका महासचिव दामु अधिकारीले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवसायीकरणमा पोखरा उद्योग वाणिज्य संंघको उच्च भूमिका रहेको बताए । त्यस्तै, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पर्यटन प्रवर्धनका लागि निजी क्षेत्रको भूमिकालाई राज्यस्तरबाट पनि मूल्यांकन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु