गृहपृष्ठ नेपाल टेलिकमको एफटीटीएचअन्तर्गत भ्वाइस सेवा पनि
नेपाल टेलिकमको एफटीटीएचअन्तर्गत भ्वाइस सेवा पनि
नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न सुरु गरेको छ । सेवा सुरुवातको अवसरमा २०७५ साउन १० गतेदेखि ३ महिनाका लागि प्रमोसनल अफरका रुपमा कम्पनीको नेटवर्कभित्र भ्वाइस सेवा निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।
आईपी बेस्ड प्रविधिअन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट भ्वाइस सेवासमेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गर्ने टेलिकमले जनाएको छ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराइएको छ ।
बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने कम्पनीले जनाएको छ । हाल काठमाडौं उपत्यकाका कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यकाबाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।
टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजनाअनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । साथै, कम्पनीले एफटीटीएच सेवाको बृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकको घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले (भ्वाइस, हाइ स्पिड इन्टरनेट, भिडियो) सेवा प्रदान गर्न सकिने भएकोले यो सेवा प्रभावकारी हुने कम्पनीको दाबी छ ।
ग्राहक माझ सस्तो तथा सुलभ दरमा एफटीटीएच सेवा उपलब्ध गराउन भन्दै हाल मनसुन अफरअन्तर्गत विभिन्न प्याकेजका रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ । व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक–फरक महसुल दर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय १५:३२ बजे

















