गृहपृष्ठ तीन महिनाभित्र नेपाल पूर्वाधार विकास बैंक !

तीन महिनाभित्र नेपाल पूर्वाधार विकास बैंक !

तयारी तीव्र

नेपालमा पूर्वाधार विकास बैंकको बहस भएको लामो समय भएको छ । तर, अहिलेसम्म यो स्थापना हुन सकेको छैन । यद्यपि, अबको तीन महिना अर्थात कार्तिकसम्ममा आवश्यक सबै प्रक्रिया पूरा गर्ने गरी पूर्वाधार विकास बैंक स्थापनाको तयारी भइरहेको अध्ययनको जिम्मेवारी पाएको इमर्जिङ नेपालले जनाएको छ । इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयका अनुसार कार्तिकभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि निवेदन दिने हिसाबले काम भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइएको मितिदेखि ६ महिना भित्रमा बैंकले कार्यालयको पूर्वाधार तथा आन्तरिक स्वरुप, कर्मचारीको नियुक्ति, आइटीका सफ्टवेयर र कर्मचारी विनियमावली, आर्थिक प्रशासन विनियमावली, राइट अफ पोलिसीलगायतको तयारी गरेर राष्ट्र बैंकमा सञ्चालन स्वीकृतिका लागि निवेदन दिनुपर्नेछ । ‘सोही कुरालाई ध्यानमा राखेर बैंक स्थापनाको काम अगाडि बढाइएको छ,’ डा. आत्रेयले भने ।

उनका अनुसार, बैंकले राष्ट्र बैंकको स्वीकृतिका लागि बुझाउनुपर्ने आर्थिक प्रशासन विनियमावली, कर्मचारी विनियमावली र कर्जा अभिलेखन विनियमावली बुझाइसकेको छ । यस्तै प्रशासनिक फारम तथा कर्जा लगानीका लागि नीति नियमको मस्यौदा तयार भईसकेको छ । आइटी सफटवेयरको खरिद गर्ने प्रकृया पनि अगाढि बढाइएको तथा कर्मचारीको नियूक्तिको लागि विज्ञापन पनि गरिसकेको उनले बताए ।

बैंकले कार्यालयको लागि वानेश्वरको कृष्ण टावरको पहिलो र दोस्रो तल्ला भाडामा लिईसकेको छ ।
नेपाल पूर्वाधार बैंकका लागि नेपाल राष्ट्र बैंकले जम्मा २० अर्ब रुपैयाँ चुक्तापुँजी तोकेकोमा १२ अर्ब संस्थागत अर्थात प्रोमोटर समुहबाट र आठ अर्ब सर्वसाधारणबाट उठाउने योजनाअनुसार काम अघि बढाईएको छ । १२ अर्बमध्येमा सुरुमा ५ प्रतिशत र पछि ४५ प्रतिशत गरेर ५० प्रतिशत अर्थात छ अर्ब, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम विभिन्न बैंकहरुमा जम्मा भइसकेको आत्रेयले बताए । बाँकी ६ अर्ब अन्तिममा अपोरेटिङ लाइसेन्स लिनको लागि राष्ट्र बैंकको निर्देशन बमोजिम जम्मा गरिने उनको भनाइ छ ।

पूर्वाधार विकास बैंकमा १० प्रतिशत नेपाल सरकारको लगानी रहेको छ भने प्रोमोटर समूहको ५० प्रतिशत लगानी रहेको छ । बाँकी ४० प्रतिशत लगानी सर्वसाधारणका लागि छुट्याइएको छ । प्रोमोटर समूहमा इमार्जिङ नेपालसहिमत विभिन्न बैंक, बीमा कम्पनी, नेपालका प्रतिष्ठित उद्योगी तथा व्यवसायी छन् ।

नेपाल राष्ट्र बैंकले गत वर्षमात्रै पूर्वाधार विकास बैंक स्थापना गर्न अनुमति दिएको थियो । गत वर्ष फागुनमा मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा पूर्वाधार विकास बैंक स्थापनाका लागि आवश्यक इजाजत, नियमन र सुपरीवेक्षणसम्बन्धी नीतिगत व्यवस्था गर्ने घोषणा गरेको थियो । सो व्यवस्थालाई यो वर्ष पनि निरन्तरता दिइएको छ ।

प्रकाशित समय १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु