गृहपृष्ठ फलाे अप सात- राज ब्रुअरीलाई कारबाही गर्न उद्योग र गृहकाे आलटाल

फलाे अप सात- राज ब्रुअरीलाई कारबाही गर्न उद्योग र गृहकाे आलटाल

प्रधानमन्त्री कार्यालयकाे निर्देशन पालना भएन

राष्ट्रिय झण्डाको दुरुपयोग र ट्रेडमार्क स्वीकृत नगरी बियर उत्पादन गर्ने राज ब्रुअरीलाई कारबाही गर्न नियामक निकायले अटेर गरेका छन् । प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको महिना दिन बित्दासमेत उद्योग तथा गृह मन्त्रालयले बेवास्ता गरेका हुन् ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरीले ट्रेडमार्क स्वीकृत नगरी बियर उत्पादन तथा बिक्री–वितरण गरेको र ट्रेडमार्कमा राष्ट्रिय झण्डाको चिह्न प्रयोग गरेको समाचार न्युज कारोबारमा प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले कारबाहीका लागि गृह र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।

राज ब्रुअरीले बियरमा कानुनले बन्देज लगाएको ‘नेपालको राष्ट्रिय झण्डा’को लोगो राखेर ‘गम्भीर त्रुटी’ गरेको छ । यस्तै ट्रेडमार्क स्वीकृत नगरी उत्पादन बेचेर अर्काे लापर्बाही गरेको छ । यससम्बन्धी खबर ‘न्युज कारोबार’मा प्रकाशित भएपछि संर्वसाधारणले प्रधानमन्त्री कार्यालयअन्तर्गतको ‘हेलो सरकार’ मा उजुरी गरेका थिए ।

उजुरीउपर प्रधानमन्त्री कार्यालयको हेलो सरकार शाखाले भदौ ५ गते नै कारबाहीका लागि निर्देशन दिएको जनाएको छ । हेलो सरकारले कारबाही गर्न निर्देशन दिइएको जानकारी गराउँदै ट्विट गरेको छ– ‘तत्काल अनुगमन गरी आवश्यक कारबाहीका लागि गृह र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएका छौं ।’

प्रधानमन्त्री कार्यालयले आवश्यक कारबाहीका लागि निर्देशन दिए पनि राज ब्रुअरीसामु गृह र उद्योग मन्त्रालय निरीह देखिएका छन् । उनीहरुले एक महिनासम्म कुनै कारबाही प्रक्रिया अगाडि बढाएका छैनन् ।

ट्रेडमार्क स्वीकृत नगरी मदिरा उत्पादन तथा बिक्री–वितरण गर्नु अवैध हुन्छ । अवैध मदिराको कारोबार नियन्त्रण गर्ने निकायहरु गृह मन्त्रालय तथा मातहतका कार्यालय, उद्योग विभाग, करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व कार्यालय हुन् । साथै, अवैध मदिरा नियन्त्रण समिति तथा तथा उद्योग विभागको अनुमगन शाखा पनि छ । तर, सरोकारवाला यी सबै निकायका अधिकारी ट्रेडमार्क स्वीकृत नगरी बियर उत्दपादन भएको थाहा पाउँदासमेत मौन बसेका छन् ।

२०२२ सालदेखि कार्यान्वयनमा रहेको ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ उल्लंघन गर्दै राज ब्रुअरीले अवैधानिक रुपमा नमस्ते बियर बेचिरहेको छ । कुनै पनि वस्तु वा उत्पादन बजारमा ल्याउनुअघि उद्योग विभागमा दर्ता गरेर अनिवार्य ट्रेडमार्क स्वीकृति लिनुपर्छ । राज ब्रुअरीले नमस्ते ब्रान्डको बियर उत्पादन गर्न अरु केही गुणस्तर दर्ता गरे पनि प्रिमियम गुणस्तरको ट्रेडमार्क स्वीकृत नभएको उद्योग विभागका अधिकारीले नै बताएका छन् ।

प्रिमियम लेबलको बियर ट्रेडमार्क मान्यताप्राप्त नरहेको विभागको टेड्रमार्क शाखाका निर्देशक नोखबहादुर बस्यालले जानकारी दिएका छन् । तर, अवैध उत्पादन भइरहेको जान्दाजान्दै पनि विभागले कारबाही प्रक्रिया अगाडि बढाएको छैन । ‘बजार अनुगमन शाखाले त्यस विषयमा अध्ययन गर्दै छ, नियम उल्लंघन गरेको वा लापर्बाही गरेको पाइए, कारबाही गर्छौं ।’

महानिर्देशक सरुवाले कारबाही प्रक्रियामा ढिलाइ
उद्योग सचिव यमकुमारी खतिवडाले लापर्बाही गर्ने उद्योगलाई संरक्षण गर्ने उद्योग मन्त्रालयको कुनै नियत नभएको बताइन् । पहिला महानिर्देशकले कारबाही प्रक्रिया थाले पनि अहिले महानिर्देशक परिवर्तन भएकाले कारबाही प्रक्रिया अलमलमा परेको हुनसक्ने उनको भनाइ छ । ‘यो विषयमा मैले गम्भीरतापूर्वक लिएको छु,’ उनले भनिन्, ‘नयाँ आएका महानिर्देशकलाई पुनः कारबाही प्रक्रिया थाल्न तत्काल निर्देशन दिन्छु ।’

कारबाही गर्न सिडिअाे र प्रहरीलाई निर्देशन दिइसकेका छौँ : गृह मन्त्रालय
गृह मन्त्रालयले भने राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने राज ब्रुअरीलाई आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई निर्देशन दिइसकेको बताएको छ । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट निर्देशन पाएलगत्तै आवश्यक कारबाहीका लागि राज ब्रुअरीको उद्योग रहेका नवलपरासी र कार्यालय रहेको ललितपुर जिल्लाका सिडिअाे र प्रहरी प्रमुखलाई निर्देशन दिएका छौँ,’ गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले भने, ‘दोषी पाइए राज ब्रुअरीलाई कारबाही गरिनेछ ।’

‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ मा सो ऐन उल्लंघन गरेमा सबै उत्पादन सामग्री जफत हुने उल्लेख छ । सरकारी निकायले कानुनसम्मत कारबाही गर्ने हो भने राज ब्रुअरीले उत्पादन गरेको प्रिमियम गुणस्तरको नमस्ते बियर सबै जफत गर्नुपर्ने हुन्छ । राज ब्रुअरीले ट्रेडमार्क ऐन उल्लंघनमात्र नभई राष्ट्रिय झण्डाको दुरुपयोगसमेत गरेकाले त्यससम्बन्धी छुट्टै सजायसमेत भोग्नुपर्ने हुन्छ ।

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु