गृहपृष्ठ बोइङको कारखाना अनिश्चितकालीन बन्द

बोइङको कारखाना अनिश्चितकालीन बन्द

अमेरिकाको विमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीपछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ ।

बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो । यो कारखानाबाट लामो दूरीको उडान भर्ने बोइङ-७७७ जेट र अरु मोडलका विमान उत्पादन हुने गरेको छ । गत महिना कम्पनीले आफ्नो कारखाना दुई साताका लागि बन्द गर्ने घोषणा गरेको थियो ।

साथै कम्पनीले बोइङ ७३७ म्याक्स विमानमा समस्या आएपछि मोजेज लेकमा रहेको अर्को कारखाना पनि अहिले बन्द छ । बोइङले आइतबार कोविड-१९ को महामारीबाट कर्मचारीलाई जोगाउन पनि कारखाना अनिश्चितकालका लागि बन्द गर्नु परेको जनाएको थियो ।

बोइङका व्यावसायिक विमान विभागका अध्यक्ष स्टान डिलले एक वक्तव्य जारी गर्दै कर्मचारी, उनीहरुका परिवार र हाम्रो समयको स्वास्थ्य र सुरक्षाका लागि कारखाना बन्द गर्नु परेको उल्लेख गरेका छन् ।

कोरोनाभाइरसको महामारीका साथै बोइङ-७३७ म्याक्स शृंखलामा आएको समस्याका कारण कम्पनीले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । कम्पनीले हाल अमेरिकी हवाई उड्डयन कम्पनीलाई जोगाउन संघीय सरकारबाट ६० अर्ब डलरभन्दा बढीको आर्थिक सहायताका लागि अनुरोध गरेको छ ।

कम्पनीले गत बिहीबार कर्मचारीलाई स्वेच्छिक बिदामा बस्न वा अवकाश लिन चाहने कर्मचारीलाई तत्काल आवेदन दिन अनुरोध गरेको थियो । (रासस)

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु