गृहपृष्ठ महासंघका पदाधिकारी र महावाणिज्यदूतबीच नेपाली आयातकर्ताका समस्या निराकरणबारे छलफल

महासंघका पदाधिकारी र महावाणिज्यदूतबीच नेपाली आयातकर्ताका समस्या निराकरणबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र कलकत्ताका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलबीच मंगलबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

आफ्नो कार्यभार सम्हाल्न त्यसतर्फ जानुअघि महासंघका पदाधिकारी र नवनियुक्त नेपाली महावाणिज्यदूतबीच औपचारिक भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल-भारत व्यापार तथा पारवहन, नेपाली कृषि उत्पादनहरूको भारत निर्यातमा सहजीकरण, गैरभन्सार अवरोध, दुवै देशका प्रादेशिक सरकार बीचको अन्तरसम्बन्ध विस्तारका लागि पहल हुनुपर्ने महासंघका पदाधिकारीहरुले औंल्याएका थिए । यसका साथै आइसीपीहरूको निर्माण तथा प्रभावकारी उपयोग, कन्कर र सिपिङ कम्पनीहरूको एकाधिकार, नेपालका लागि पैठारी गरिएका तेस्रो मुलुकको बल्क कार्गोका लागि स्थान विस्तार, कन्टेनरको बिलम्व चार्जका कारण नेपाली आयातकर्तालाई परेका समस्या एवं तिनको निराकरण लगायतका विषयमा छलफल हुनुका साथै यी विषयहरूमा महावाणिज्यदूतबाट सक्दो सहयोगको अपेक्षा महासंघका तर्फबाट गरिएको थियो ।

महावाणिज्यदूत पौडेलले नेपालको आयात-निर्यात व्यापारलाई सहजीकरण गर्ने, बन्दरगाहको प्रयोगमा नेपाली व्यवसायीहरूले भोग्नु परेका समस्या समाधान एवं नेपालको भारत निर्यात प्रवर्द्धनमा आफूले सक्दो सहयोग गर्ने र नेपाली निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने प्रतिवद्धता जनाए ।

भेटवार्तामा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघका महानिर्देशक धरणीधर खतिवडाले निजी क्षेत्रले भोग्नुपरिरहेको समस्याहरु महावाणिज्यदूतसमक्ष राखेका थिए ।

प्रकाशित समय १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु