गृहपृष्ठ अशोक लेलैण्डको १३औं शाखा पोखरामा
अशोक लेलैण्डको १३औं शाखा पोखरामा
आइएमई मोटर्सले अशोक लेलैण्डको १३औं शाखा पोखरामा स्थापना गरेको छ । पोखरा क्षेत्रको मागलाई मध्यनजर गर्दै शाखा स्थापना गरिएको कम्पनीका प्रबन्ध निर्देशक हेमराज ढकालले बताए । आइएमई ग्रुपअन्तर्गतको आइएमई मोटर्स भारतको चर्चित ब्रान्ड अशोक लेलैण्डको नेपालका लागि आधिकारिक विक्रेता हो ।
पोखराको चाउथे स्वागतनगरमा करिब १० रोपनीमा स्थापना गरिएको शाखामा सेल्स, सर्भिस र स्पेयर्स व्यवस्था छ । शाखा स्थापनामा करिब ४ करोड खर्च भएको प्रबन्ध निर्देशक ढकालले जानकारी दिए ।
काठमाडौं, इटहरी, नारायणगढलगायतका स्थानमा अशोक लेलैण्डका शाखा स्थापना भइसकेका छन् । चाँडै बर्दिबासमा शाखा स्थापनाको तयारी भएको आइएमई मोटर्सले जनाएको छ ।
तीन वर्षदेखि अशोक लेलैण्डका गाडी बिक्री गर्दै आएको आइएमई मोटर्सले हालसम्म करिब ३ हजार गाडी बिक्री गरिसकेको छ । अबको दुई वर्षभित्रमा १० हजारभन्दा बढी गाडी बिक्री गर्ने लक्ष्य रहेको प्रबन्ध निर्देशक ढकालले जानकारी दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अशोक लेलैण्डको सेल्स, सर्भिस र स्पेयर्सको व्यवस्था एकै छानामुनिबाट भएकोमा पोखराका व्यवसायीलाई धेरै फाइदा पुग्ने बताए । त्यस्तै, अशोक लेलैण्डका अन्तर्राष्ट्रिय उपाध्यक्ष रविकुमार पंगाले सन् १९९२ देखि युवा व्यवसायीले भारतबाट सुरु गरेको व्यवसाय आइएमई मोटर्समार्फत नेपालभर फैलिनु खुसीको कुरा भएको बताए । अशोक लेलैण्ड भारतको दोस्रो ठूलो बस र ट्रक निर्माता कम्पनी हो ।
प्रकाशित समय ०८:२० बजे

















