गृहपृष्ठ इन्भेस्टमेन्ट बैंकको चार शाखा विस्तार

इन्भेस्टमेन्ट बैंकको चार शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चार शाखा तथा रसुवाको धुन्चेमा एक्सटेन्सन काउन्टर खोलेको छ । यीसँगै अब बैंकको शाखा संख्या ७० वटा पुगेको छ भने एक्सटेन्सन काउन्टर पाँचवटा पुगेको छ ।
दोलखाको बिगु गाउँपालिकास्थित सिंगटी, पाचथरको फाल्गुनन्द गाउँपालिकास्थित राँके, नुवाकोटको सूर्यगढी गाउँपालिकास्थित चोकदे तथा रामेछापको लिखू तामाकोसी गाउँपालिका धोवीबजारस्थित लिखूमा बैंकले आफ्ना क्रमशः ६७औं, ६८औं, ६९औं र ७०औं शाखा विस्तार गरेको हो ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ । विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेस्टमेन्ट बैंक एक मात्र बैंक रहेको बैंकको भनाइ छ ।
हाल प्रदेश १ मा ९ वटा, प्रदेश २ मा ६ वटा, प्रदेश ३ मा ३४ वटा, प्रदेश ४ मा ६ वटा, प्रदेश ५ मा ७ वटा, प्रदेश ६ मा ४ वटा र प्रदेश ७ मा ४ वटा शाखा रहेको छ । बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली शाखा सञ्जाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
नौवटा यातायातसम्बन्धी राजस्व संकलन केन्द्र खोलेको बैंकले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
निजी क्षेत्रमा सर्वाधिक चुक्ता पुँजी १० दशमलव ६४ अर्ब रुपैयाँ रहेको बैंकको चैत मसान्तको वित्तीय विवरणअनुसार निक्षेप १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी १ सय १८ अर्ब रुपैयाँ पुगेको छ । बैंक ‘दि बंैकर’, फाइनान्सियल टाइम्स, लन्डनद्वारा दिइएको सम्मानजनक ‘बैंक अफ दि इयर’ उपाधि पाँचपटक प्राप्त गर्ने एक मात्र नेपाली बैंकका रूपमा रहेको छ ।

प्रकाशित समय ०६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु