गृहपृष्ठ ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरमा जाने सहमति, के गर्दैछन् अरू ?

ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरमा जाने सहमति, के गर्दैछन् अरू ?

Global-janata-newskarobar

ग्लोबल आईएमई र जनता बैंक नेपाल मर्जरमा जान सहमत भएका छन् । नेपाल राष्ट्र बैंकले असार १२ गते सबै बैंकका अध्यक्ष र सीईओलाई बोलाएर १५ दिनभित्र जोडी खोज्न निर्देशन दिएपछि निरन्तर पहलमा जुटेको ग्लोबलले जनतालाई पार्टनर भेटेको हो ।

ग्लोबल आईएमई र जनता बैंकबीच गाभ्ने गाभिनेसम्बन्धी सम्झौताको प्रारम्भिक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । सांग्रिला होटलमा भएको सहमतिअनुसार मर्जरपछि बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल नै रहनेछन् भने बैंकको नाम ग्लोबल आईएमई नै रहनेछ । मर्जरपछि बैंकको सीईओमा हाल जनता बैंकका सीईओ परशुराम कुँवर क्षेत्री रहनेछन् । त्यस्तै, वरिष्ठ डेपुटी सीईओमा महेश ढकाल रहनेछन् । सञ्चालकमा ग्लोबलबाट ३ जना र जनताबाट २ जना रहनेछन् ।

सेयर अनुपात सम्पत्ति तथा मूल्यांकनपछि मात्र टुंगो लाग्ने भए पनि हाल जनतालाई एक सेयर बराबर ८५ रूपैयाँ दिनेगरी प्रारम्भिक सहमति भएको बताइएको छ । जनता बैंकका सीईओ क्षेत्रीले जनता र ग्लोबल दुवै जित हुने गरी मर्जर अघि बढेको प्रतिक्रिया दिए ।

त्यस्तै, ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकको नीतिलाई आत्मसात गर्दै अघि बढ्न र जोखिम बहन गर्ने क्षमता बढाउन मर्जरको निर्णय लिइएको बताए ।

मर्जरका लागि ग्लोबल आईएमई र जनता बैंकका तर्फबाट ३/३ जना गरी ६ सदस्यीय संयुक्त मर्जर कमिटी गठन भएको छ । कमिटीमा ग्लोबल आईएमईका तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठ संयोजक र जनता बैंकको तर्फबाट गौतमप्रसाद खनाल सह-संयोजक रहनेछन् ।

global-janata-merger-newskarobar

अन्य सदस्यहरुमा जनता बैंकका तर्फबाट रामप्रसाद भण्डारी र सञ्जप्व न्यौपाने तथा ग्लोबलका तर्फबाट नुमनाथ पौडेल र सुमन पोखरेल रहेका छन् । मर्जर सम्झौतासँगै आइतबारदेखि दुबै बैंकको सेयर कारोबार रोकिने भएको छ ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ भने जनता बैंकको आठ अर्ब रुपैयाँ छ । प्रारम्भिक सहमतिअनुसार ग्लोबल र जनताबीच ८५ प्रतिशत स्वाप रेसियो कायम भए दुई बैंक मर्जर भएर बन्ने बैंकको चुक्ता पूँजी १७ अर्ब ११ करोड नाघ्नेछ ।

 

के गर्दैछन् अरू ?

ग्लोबल र जनताबीच भएको मर्जर सहमतिले अरू बैंक पनि दबाबमा परेका छन् । राष्ट्र बैंकको निर्देशनपछि नै पार्टनर खोज्ने दौडधुपमा लागिसकेका कम्पनीहरू राष्ट्र बैंकसामु प्रतिबद्धता पेस गर्ने तयारीमा छन् ।

एनसीसी बैंकले मर्जरका लागि पार्टनर खोज्न चार सदस्यीय उपसमिति गठन गरिसकेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिअघि नै मर्जरका लागि उपयुक्त पार्टनर खोजेर जानकारी गराउन निर्देशन दिएपछि असार १५ गते बसेको बैंक सञ्चालक समिति बैठकले माधव भट्टको संयोजकत्वमा ४ सदस्यीय मर्जरसम्बन्धी अध्ययन उपसमिति गठन गरेको हो । उपसमितिमा चन्द्र बास्तोला, इमानसिंह लामा र कृष्ण श्रेष्ठ सदस्य छन् । चारै जना बैंक सञ्चालक समितिका सदस्य हुन् । मर्जरका लागि उपयुक्त जोडी खोज्न, सम्भाव्यताबारे अध्ययन गर्न र सञ्चालक समितिमा प्रतिवेदन पेस गर्न उपसमितिलाई अख्तियारी दिइएको छ ।

त्यस्तै, सानिमा बैंक, प्रभु बैंक, मेगा बैंक, कुमारी बैंक, सेन्चुरी बैंकलगायतले पनि मर्जर पार्टनरको खोजी गर्न आन्तरिक तयारी गरिरहेका छन् । स्वेच्छिक रुपमा समय दिँदा पनि उपयुक्त पार्टनर खोजी नगरे राष्ट्र बैंकले फोर्स मर्जरका लागि बाध्य पार्ने नीति अख्तियार गर्ने संकेत गरेकाले पनि बैंकहरुले समयमै प्रतिबद्धता पेस गर्ने गरी तयारी थालेका हुन् ।

प्रकाशित समय १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु