गृहपृष्ठ एउटै ‘प्रडक्ट’मा किस्ताबन्दी लगानी गर्न नपाउने
एउटै ‘प्रडक्ट’मा किस्ताबन्दी लगानी गर्न नपाउने
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीले कुनै एकै कम्पनीका मात्र उत्पादनमा मात्र लगानी गर्न नपाउने व्यवस्था गरेको छ । ‘हायर पर्चेज’बाट गाडी, मोटरसाइकलसहित अन्य घरायसी प्रयोगका उत्पादनमा लगानी गर्ने गरि खुलेका यस्ता केही कम्पनीले एकै कम्पनीमात्रैमा उत्पादनमा लगानी बढाएपछि राष्ट्र बैंकले यसमा कडाइ गरेको हो ।
कृषि, औद्यागिक वा व्यावसायिक प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारीसाधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि दिइने किस्ताबन्दी ऋण नै ‘हायर पर्चेज’ हो । सम्बन्धित वस्तु वा उपकरण नै धितोमा राखेर त्यसको साँवा तथा ब्याज समान किस्ता (इएमआई) मा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने व्यवस्था गरिएको हुन्छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूबाहेक ६ वटा ‘हायर पर्चेज’ कम्पनी (गैर वित्तीय संस्था)ले यस्तो प्रकारको लगानी गर्दै आएका छन् । जसमा काठमाडौंको हुलास इन्भेस्टमेन्ट प्रालि, सिप्रदी हायर पर्चेज प्रालि, स्याकार इभेन्टमेन्ट प्रालि, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट प्रालि, वीरगन्जको ओम्नी प्रालि, पोखराको बतास इन्भेस्टमेन्ट कम्पनी, विराटनगरको एमएडब्लू इन्भेस्टमेन्ट प्रालि रहेका छन् ।
गोल्छा समूहको हुलास इन्भेस्टमेन्टले खासगरि सामसङका घरायसी विद्युतीय उपकरण र बजाज ब्रान्डका मोटरसाइकल, सिप्रदी समूहको सिप्रदी हायर पर्चेजले टाटा कम्पनीका सवारी साधन र सहायक सामग्री, बतास अर्गनाइजेनसको बतास इन्भेस्टमेन्ट कम्पनीले महिन्द्राका सवारी साधन, ज्योति ग्रुपको स्याकार इन्भेस्टमेन्टले हिरो होन्डा मोटरसाइकल र फिलिप्सका घरायसी उपकरणमा मात्र आफ्नो लगानी गरिरहेका छन् । यस्तै मोरङ अटो वर्क्सको एमएडब्लू इन्भेस्टमेन्टले यामाहा ब्रान्डका मोटर साइकलमा लगानी गर्ने गरेको छ ।
राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार अब यसरी एकैमात्र ब्रान्ड वा उत्पादनमा यस्ता कम्पनीले लगानी गर्न पाउने छैनन् । ‘हायर पर्चेज कम्पनीले एकभन्दा बढी कम्पनी (बहु–ब्रान्ड)बाट उत्पादित सवारी साधन, मेसिनरी, औजार, उपकरणहरूमा अनिवार्य रूपमा लगानी गर्नुपर्ने र सोसम्बन्धी जानकारी सर्वसाधारणलाई दिनुपर्नेछ,’ राष्ट्र बैंकद्वारा हालै जारी निर्देशनमा भनिएको छ ।
यसबाहेक हायर पर्चेज कम्पनीहरूले अहिले विभिन्न नामका शुल्कहरू ग्राहकलाई जानकारी नदिइ लिने क्रम बढेपछि राष्ट्र बैंकले त्यसमा पनि लगाम कसेको छ । ‘ हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याजबाहेक अन्य शुल्क तथा दस्तुर लिन पाउने छैन,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
राष्ट्र बैंकका अनुसार हायर पर्चेज कम्पनीहरूले आफूले लिने र दिने कर्जाको ब्याजदर अन्तर ३ प्रतिशतभन्दा बढी पार्न पाइने छैन भने यस्ता कम्पनीले कुनै पनि नाममा निक्षेप वा बचत संकलन गर्न पाउने छैनन ।
राष्ट्र बैंकले यसअघि नै हायर पर्चेज कम्पनीहरूको चुक्ता पुँजी ३० करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरिसकेको छ । यसअघि १० करोड रुपैयाँको चुक्ता पुँजीमा खुलेका यी ६ वटै हायर पर्चेज कम्पनीहरूले २०७७ असारभित्र २० करोड र २०७८ असारभिक्र ३० करोड चुत्ता पुँजी पुर्याइसक्नु पर्नेछ ।
प्रकाशित समय १४:४१ बजे

















