गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकद्वारा ५० लाख रूपैयाँ सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्वारा ५० लाख रूपैयाँ सहयोग

राष्ट्रिय वाणिज्य बैकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई भवन निर्माणको लागि ५० रुपैयाँ सहयोग गरेको छ । बैकका अध्यक्ष निर्मल अधिकारीले किओचका संस्थापक डा. भगवान कोइरालालाई बुधबार चेक हस्तान्तरण गरे ।

किओचले निर्माण गर्ने बाल अस्पतालको एक युनिटमा राष्ट्रिय वाणिज्य बैंकको नामकरण गर्नुपर्ने पनि सहमति भएको छ । अस्पतालको भवन करिब ६० करोडको लागतमा निर्माण हुन लागेको हो ।

मनसुन सकेलगत्तै सुरु गरी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष कोइरालाले बताए । ‘विभिन्न संघसंस्थाबाट संकलित १ करोड रुपैयाँ खातामा जम्मा भइसकेको छ । डेढ करोड रुपैयाँको लिखित प्रतिवद्धता आएको छ । कतिपयले मौखिक प्रतिवद्धता जनाउनु भएको छ । सबै जम्मा गर्दा ८ देखि १० करोड हुन्छ,’ उनले भने ।

काठमाडौंको बुढानिलकण्ठमा केन्द्रीय बाल अस्पतालको रुपमा निर्माण हुन लागेको यस अस्पताल सातै प्रदेशमा सञ्चालन हुने कोइरालाले बताए । बाल स्वास्थ्यको क्षेत्रमा काम गर्ने, तालिमप्राप्त दक्ष जनशक्ति तयार गर्ने तथा गुणस्तर वृद्वि गर्ने जस्ता उद्देश्य बाल अस्पतालले लिएको छ । अध्यक्ष कोइरालाले अस्पताल मुनाफारहित कम्पनीको रुपमा सञ्चालन हुने बताए ।

२०२२ मा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक आजसम्म आइपुग्दा विभिन्न आरोह-अवरोह पार गर्दै आएको अध्यक्ष अधिकारीले बताए । ‘सुरुमा एकल बजार थियो, प्रतिस्पर्धा थिएन । अर्थतन्त्र विकाससंगै बजारमा नयाँनयाँ बैंक तथा वित्तीय संस्थाहरु खुले । एकातिर प्रतिस्पर्धा बढ्यो । अर्कोतिर सरकारको लोककल्याणकारी काम गर्नुपर्ने,’ उनले भने ।

बैकिङ क्षेत्रबाहेक सामाजिक कार्य गर्दै आइरहेको बैंकले आगामी दिनमा पनि सहयोग जारी राख्ने अध्यक्ष कोइरालाले प्रतिवद्वता व्यक्त गरे ।

प्रकाशित समय १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु