गृहपृष्ठ कोरोना विपत्ति वित्तीय क्षेत्रका लागि डिजिटाइजको ‘अवसर’

कोरोना विपत्ति वित्तीय क्षेत्रका लागि डिजिटाइजको ‘अवसर’

कोरोनाको विश्वव्यापी प्रभावले आहतमा परेको नेपालको वित्तीय क्षेत्रले यसलाई डिजिटाइजमा लैजाने ‘अवसर’को रुपमा उपयोग गरेको छ । मूलतः वाणिज्य बैंक, विकास बैंक, बिमा कम्पनीलगायतले कोरोना विपत्तिलाई डिजिटाइज हुने अवसरको रुपमा उपयोग गरेका हुन् ।

नेपालकै सर्वाधिक ठूलो ग्लोबल आइएमई बैंकले डिजिटाइजलाई उच्च प्राथमिकतामा राखेको छ । कम्पनीले सामान खरिदमा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर ७ सय रूपैयाँसम्म छुट सुविधालगायतका अफर ल्याएर ग्राहकलाई डिजिटाइजमा जान अभ्रिपेरित गरेको छ । ग्लोबल आइएमइले ‘मेरो बैंक मेरै मोबाइलमा’ जस्ता आकर्षक स्लोगन राखेर ग्राहकलाई मोबाइल बैंकिङ सेवा लिन प्रेरित गरेको छ ।

ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुँवर क्षेत्री नगद कारोबार कम गर्दै डिजिटल कारोबारमा जान बैंकले ग्राहकलाई आग्रह गरेको बताउँछन् । ‘डिजिटाइज हुने कुरालाई विपत्तिसँग जोडेर हेर्नै पर्दैन, संसारको गति सँगसँगै यात्रा गर्न बैंकिङ क्षेत्रलाई डिजिटाइज गराउनुको विकल्पै छैन,’ उनी भन्छन्, ‘खाताको रकमको स्थिति बुझ्न, फन्ड ट्रान्सफर गर्न, इन्टरनेट, खानेपानीलगायतको शुल्क तिर्न, फोन रिचार्ज गर्नलगायतका काममा समय खर्च गर्नु बेकार छ, यी सबै काम मोबाइलबाट गर्न सकिन्छ, मोबाइल बैंकिङ सेवा लिएका बैंकले हत्तपत्त बैंक कार्यालयमा पुग्नै पर्दैन ।’

लकडाउनका कारण बन्द रहेको ग्लोबल आइएमइ बैंकको बत्तिसपुतली शाखा । यो शाखा तालिकाअनुसार कहिलेकाहीँ बिहान १० बजेदेखि १ बजेसम्म खुला गर्ने गरिएको छ ।

त्यस्तै एनएमबी बैंकका सिइओ सुनिल केसी बैंकहरुलाई डिजिटाइजमा जान यस्ता विपत्तिले आँखा खोलिदिने बताउँछन् । ‘कुनै न कुनै परिबन्धमा नपरी सिक्ने हाम्रो बानी नै छैन, यसपटक वित्तीय क्षेत्रलाई डिजिटल बैंकिङको आवश्यकता र महत्वबारे कोरोनाले आँखा खोलिदिएको छ,’ उनी भन्छन्, ‘कोरोनाको विपत्ति एकातिर छँदै छ, अधिकांश बैंकले यसलाई डिजिटाइजमा जाने अवसरको रुपमा प्रयोग गरिरहेका छन् ।’

एनएमबी बैंकले विगत वर्षदेखि नै डिजिटाइज हुने कुरालाई उच्च प्राथमिकतामा राखेको उनले बताए । ‘डिजिटाइज हाम्रो प्लानिङमै थियो, यसले झनै पुस गरिदिएको छ,’ उनले भने । एनएमबी बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत ग्राहकले घरबाटै अधिकांश बैंकिङ सेवा लिनसक्ने जनाएको छ । बैंकले मोबाइल बैंकिङबाट टिभि, इन्टरनेट, बत्ती, खानेपानी, फन्ड ट्रान्सफर, फोन रिचार्ज, खाताको जानकारी तथा क्रेडिट कार्डको बिल भुक्तानीलगायत सुविधा दिएको छ । आगामी दिनमा ग्राहकलाई अझ मोटिभेट गर्नेखालका योजना लिएर अघि बढ्ने योजना रहेको उनले सुनाए ।

नेपालका अधिकांश बैंक डिजिटाइज भइसकेका छन् । बैंकहरूले दिएका सुविधा प्रयोग गर्ने ग्राहकले सामान्य कामका लागि बैंकसम्म पुग्नै नपर्ने माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला बताउँछन् । ‘नेपालका अधिकांश बैंकबाट सामान्य सेवा लिन ग्राहक बैंकसम्म पुग्नै नपर्ने स्थिति छ,’ उनी भन्छन्, ‘अब ग्राहकलाई यस्ता सुविधाको उपयोगका लागि अवेरनेस बढाउनुपर्ने देखिन्छ ।’ बैंकहरूसँग प्रडक्ट भए पनि प्रयोगको स्थिति निकै कम रहेको उनले बताए । यसपटकको कोरोना कहरबाट मोबाइल बैंकिङ कुनै पनि विपत्तिका समयमा काम लाग्ने रहेछ भन्ने ग्राहकले पनि बुझेको सिइओ कोइरालाको विश्वास  छ ।

लकडाउनका कारण बन्द रहेको माछापुच्छ्रे बैंकको बत्तिसपुतली शाखा । यो शाखा तालिकाअनुसार कहिलेकाहीँ बिहान १० बजेदेखि १ बजेसम्म खुला गर्ने गरिएको छ भने सँगै रहेको एटिएम काउन्टर २४सै घण्टा खुला रहन्छ ।

करिब चार वर्षदेखि आक्रामक ब्रान्डिङमा उत्रिएको एनआइसी एसिया बैंकले कोरोनाभाइरसको त्रासका कारण सरकारले लकडाउन घोषणा गरेयता विभिन्न स्किम सार्वजनिक गरेर ग्राहकलाई डिजिटाइज बैंकिङ सेवामा जान उत्प्रेरित गरिरहेको छ । कम्पनीले नगद कारोबार कम गर्न तथा मोबाइल बैंकिङको प्रयोग बढाउन ग्राहकलाई आग्रह गरेको छ ।

बैंकले मोबाइल बैंकिङबाट टिभि, इन्टरनेट, बत्ती, खानेपानी, फन्ड ट्रान्सफर, फोन रिचार्ज, क्युआर कार्ड पेमेन्ट, टिकट खरिद, खाताको जानकारी तथा क्रेडिट कार्डको बिल भुक्तानी गर्न ग्राहकलाई छुट सुविधा नै दिएर आकर्षित गरेको छ । एनआइसी एसियाका चिफ बिजनेस अफिसर अर्जुनराज खनिया डिजिटल बैंकिङ मोबाइल बैंकिङ मात्र नभएर बैंकिङको नयाँ शैली भएको बताउँछन् । ‘विश्व डिजिटाइज भइसकेको छ, अब पनि हामीले त्यसतर्फको यात्रा गरेनौं भने धेरै पछि पर्नेछौं,’ उनी भन्छन्, ‘कोरोनालगायतका विभिन्न विपत्तिका बेला मात्र नभएर जीवनयापनलाई सहज बनाउन पनि बैंकिङ क्षेत्रले डिजिटाइजबारेको जानकारी पब्लिकलाई गराउन जरुरी छ ।’

काठमाडौंको बत्तिसपुतलीमा रहेको एटिएम लन्ज । यो एटिएम लन्ज २४सै खुला छ ।

बैंकहरूले मोबाइल बैंकिङ, अकाउन्ट ट्रान्सफर, इन्टरनेट बैंकिङ, एटिएम, अनलाइन खाता खोल्ने, अनलाइन पेमेन्टलगायत सुविधा दिइरहेका छन् । यसबाट वित्तीय क्षेत्रको सेवालाई चुस्त, सहज र सरल बनाउनुका साथै सञ्चालन खर्च पनि ठूलो मात्रामा घट्नेछ । शाखा संख्या कम हुनेछ ।

नागरिकमा अनलाइन सपिङको आदत बसाउन सके डिजिटल बैंकिङको लक्ष्य पूर्ति हुने बैंकरहरुको बुझाइ छ । त्यसका लागि सरकार, निजी क्षेत्र, राष्ट्र बैंक र स्वयं वित्तीय संस्थाहरू अग्रसर हुनुपर्ने माछापुच्छ्रे बैंकका सिइओ कोइराला बताउछँन् ।

बिमा क्षेत्रले पनि डिजिटाइजमा जाने कुरालाई विशेष प्राथमिकता दिएको छ । अजोड इन्स्योरेन्सका सिइओ कुमारबहादुर खत्री बिमा क्षेत्र पनि डिजिटाइज हुँदै गएको बताउँछन् । ‘केही अफ्ठ्यारा हुन्छन्, छन्, ती बाहेक सबै काम डिजिटाइज भइसकेका छन्,’ उनले भने, ‘पोलिसी इस्यु र प्रिमियम भुक्तानीका कामहरू बैंक तथा विभिन्न पेमेन्ट गेटवेहरूबाट हुन्छन्, दुई लाखभन्दा कमको दाबी भुक्तानी इमेलबाट कागजात पठाएकै आधारमा हुन्छन् ।’ दुई लाखभन्दा बढीको दाबी भुक्तानीका लागि भने सर्वेयर पठाएर टुंगो लगाउने गरेको उनले जानकारी दिए ।

त्यस्तै नेपालकै पुरानो बिमा कम्पनी नेपाल इन्स्योरेन्स पनि डिजिटाइज हुँदै गएको छ । नेपाल इन्स्योरेन्सले इमेल पठाएर बिमा लेख नवीकरण गर्न ग्राहकलाई आग्रह गरिरहेको छ । ‘पोलिसी इस्यु र प्रिमियम भुक्तानी कामलाई पनि अब डिजिटल माध्यमबाटै हुने बनाउँछौं,’ कम्पनीका नायब महाप्रबन्धक विक्रान्त पाण्डे भन्छन्, ‘मुलुककै जेठो कम्पनी भएको नाताले पनि अबको हाम्रो प्राथिमकता डिजिटाइज सेवा नै हो ।’

माघसम्मको तथ्यांकअनुसार देशभर रहेका ३ हजार ६६२ वटा एटिएम काउन्टर छन् । त्यस्तै डेबिट कार्ड लिने ग्राहक ७२ लाख १५ हजार ६४६, क्रेडिट कार्ड लिने १ लाख ४६ हजार ८५६ र प्रिपेड कार्ड लिने ६३ हजार ७७५ जना छन् । त्यस्तै मोबाइल बैंकिङका ग्राहक ९८ लाख ६ हजार २७३ र इन्टरनेट बैंकिङका ग्राहक ९ लाख ६९ हजार ५५ जना छन् । देशभर कुल ३ करोड ११ लाख १२ हजार १९४ वटा बैंक खाता छन् । यसबाहेक ब्रान्चलेस बैंकिङका ग्राहक १ लाख ८९ हजार छन् ।

प्रकाशित समय १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु