गृहपृष्ठ उपत्यकामा बैंकका मुख्य कार्यालयसहित सबै शाखा बन्द

उपत्यकामा बैंकका मुख्य कार्यालयसहित सबै शाखा बन्द

सरकारले अत्यावश्यक सेवाअन्तर्गत राखेको बैंकका कर्मचारीलाई प्रहरीले कार्यालय जान रोक लगाएपछि नेपाल बैंकर संघले आज मुख्य कार्यालयसहित सबै शाखा बन्द गरेको छ । बैंकका कर्मचारीलाई सडकमा अवरोध गरेपछि संघले उपत्यकाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैंकका कर्मचारी जोखिम मोलेर कार्यालय जान चाहे पनि प्रहरीले अवरोध गरेका कारण शाखा खोल्न नसकिएको बैंकर एसोसिएसनले जनाएको छ । बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवाअन्तर्गत राखे पनि बाटोमा कर्मचारीलाई प्रहरीले अवरोध गरेर ह्युमिलेट गरेको बताए । ‘यस्तोमा बैंकका शाखा खोल्न सम्भव भएन, आज सबै शाखा बन्द रहनेछन्,’ उनले भने ।

नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालयलगायतका सरोकारवाला निकायसँग समन्वय गरेर बैंकहरूले कर्मचारीलाई कार्यालयमा बोलाएको बताएका थिए । कार्यालयबाट बोलाइएपछि गएका बैंकका कर्मचारी एक घण्टाभन्दा बढी समय सडकमै रोकिएका थिए । लोकन्थलीबाट बानेश्वरमा रहेको कार्यालय जाँदै गरेका एनएमबी बैंकका एक कर्मचारीले कर्मचारीले कोटेश्वरमा एक घण्टाभन्दा बढी रोकिनुपरेको बताए ।

‘हामी ९ बजे नै कोटेश्वर पुगेका थियौँ,’ उनले भने, ‘प्रहरीले कोटेश्वरमा एक घण्टाभन्दा रोकेर राख्यो, कोटेश्वर ट्राफिक कार्यालयअगाडि करिब तीन सय जना रोकिएका थिए, तीमध्ये ९० प्रतिशत त बैंककै कर्मचारी थिए ।’ प्रहरीले आज जानुस् तर भोलिदेखि मिल्दैन भनेको उनले बताए ।

राष्ट्र बैंकले पनि यसलाई गम्भीरतापूर्व लिएको जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले तत्काल छलफल गरी निष्कर्ष निकालिने बताए ।

माथिल्लो निकायसँगको समन्वयको अभावमा बैंकका कर्मचारीलाई प्रहरीले रोकेको पाइएको छ । कालिमाटी क्षेत्रमा भने कार्ड देखाएपछि प्रहरीले जान दिएको बैंकका एक कर्मचारीले टेलिफोनमा बताए । जसोतसो कार्यालय पुगेका बैंकका कर्मचारी पनि अहिले घर फर्किसकेका छन् ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै नियन्त्रणबाहिर गएपछि सरकारले मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी निधेषाज्ञा लगाएको छ । भदौ १० गतेसम्मका लागि निशेषाज्ञा लगाइएकोमा अत्यावश्यक सेवामा भने कुनै अवरोध नहुने उल्लेख गरिएको थियो ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु