गृहपृष्ठ एभरेस्ट बैंकको नाफामा भारी गिरावट
एभरेस्ट बैंकको नाफामा भारी गिरावट
एभरेस्ट बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख रुपैयाँमात्र खुद नाफा गरेको हो । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५१.५४ प्रतिशतले कम हो । बैंकले गत वर्ष समीक्षा अवधिमा ६९ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी घटेर १ अर्ब २ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि घटेर ४७ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ छ । गत वर्षको अन्त्यमा ८ अर्ब ९ करोड रुपैयाँ सञ्चित रहेको बैंकको जगेडा कोषको रकम पनि घटेर ८ अर्ब ७ करोड रुपैयाँमा झरेको छ ।
बैंकले असोज मसान्तसम्ममा १ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि घटेर १५.७३ रुपैयाँमा झरेको छ, जुन गत वर्षको असोज मसान्तसम्ममा ३४.९ रुपैयाँ थियो । वित्तीय विवरणअनुसार बैंकको निष्क्रिय कर्जा ०.२२ प्रतिशत छ भने बेस रेट ७.०७ र स्प्रेड रेट ३.९४ प्रतिशत छ ।
बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद(करसमेत) गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रकाशित समय ०७:२९ बजे

















