गृहपृष्ठ ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान

ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान

राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेकामा विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ । आज आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरे । बैंकले जर्मन सरकारबाट प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्रामअन्तर्गत अनुदान सहयोग उपलब्ध गराइएको हो ।

अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रिमियर अर्गानिक्स प्रालिलाई ५३ लाख ५१ हजार ५८४ रूपैयाँ, हुलास स्टील इन्डस्ट्रिजलाई ३३ लाख १५ हजार रूपैयाँ र प्रिमियर स्टिललाई १७ लाख आठ हजार ४५६ रूपैयाँ रकम हस्तान्तरण गरिएको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हस्तान्तरण गरे । उनले अन्य उद्योगलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गर्दै यस्तो अनुदानले ऊर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने बताए ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले सो आयोजना कार्यान्वयन गरेको हो । सो आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइने छ ।

उक्त आयोजनाअन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम एक करोड रूपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन सकिने बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले जानकारी दिए ।

प्रकाशित समय ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु