गृहपृष्ठ मेगा बैंकको वार्षिक साधारणसभाबाट १३.०५ प्रतिशत लाभांश पारित
मेगा बैंकको वार्षिक साधारणसभाबाट १३.०५ प्रतिशत लाभांश पारित
मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरुका लागि बोनस सेयरसहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ । बुधबार सम्पन्न बैंकको दशौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव ०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैयाँ ७९ पैसा लाभांश पारित गरेको हो ।
त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैयाँ ६१ पैसा बोनस सेयर र ३ दशमलव ०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैयाँ १९ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ । सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधीनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो । गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई सभाले अख्तियारी दिएको छ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ अर्ब २४ करोड रुपैयाँले बृद्धि भई १ खर्ब ३३ अर्ब २६ करोड रुपैँया पुगेको छ । यसैगरी, खुदकर्जा ८ अर्ब रुपैयाँले बृद्धि भई १ खर्ब २१ अर्ब ८१ करोड रुपैँया पुगेको छ । गत त्रैमासमा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब १ अर्ब ९० करोड रुपैयाँ सहुलियत कर्जा र २ अर्ब ४२ करोड रुपैयाँ पुनर्कर्जाहरु प्रवाह गरेको साधारण सभामा जानकारी दिइयो ।

प्रकाशित समय १७:०९ बजे

















