गृहपृष्ठ एक वर्षमा बैंक-वित्तीय संस्थाका साढे सात सय शाखा बढे
एक वर्षमा बैंक-वित्तीय संस्थाका साढे सात सय शाखा बढे
काठमाडौंमा २ हजारले बैंकिङ सेवा पाउँदा जाजरकोटवासी १५ हजारले मात्र पाउँछन् सेवा
विगत एक वर्षको अवधिमा देशभरिमा बैंक तथा वित्तीय संस्थाका ७४९ वटा शाखा विस्तार भएका छन् । सबै स्थानीय तहमा बैंकिङ सुविधा पुर्याउने नीति र बैकिङ क्षेत्रका बढ्दो प्रतिष्पर्धाका कारण शाखा विस्तार हुने क्रम बढेको हो ।
विगत एक वर्षमा ‘क’ वर्गका वाणिज्य बैंकको मात्रै ६३४ शाखा विस्तार भएका छन् भने ‘ख’ वर्गका विकास बैंकको २५८ शाखा भने घटेका छन् । नेपाल राष्ट्र बैंकले लिएको मर्जर तथा एक्विजिसनका नीतिसँगै ठूला वाणिज्य बैंकहरूले विकास बैंक गाभ्ने वा तिनको स्वामित्व लिने क्रम बढेपछि विकास बैंकको संख्या घटेसँगै तिनका शाखा संख्या पनि घटेको हो ।
२०७६ मंसिरमा विकास बैंकको संख्या २४ वटा रहेकोमा गत २०७७ असारमा २० मा झरेको थियो भने मंसिर मसान्तमा १९ वटामा झरेको छ ।
राष्ट्र बैंकका अनुसार २०७६ मंसिरमा ‘क’ वर्गका वाणिज्य बैंकको शाखा संख्या ३ हजार ९५१ रहेकोमा यो २०७७ असार मसान्तमा ४ हजार ४३६ पुगेकोमा २०७७ मंसिरमा ४ हजार ५८५ वटा पुगेको छ ।
राष्ट्र बैंकका अनुसार देशभरिका ७५३ स्थानीय तहमध्ये २०७७ मंसिरसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी बैंक शाखा बागमती प्रदेशमा छन् भने जिल्लागत रूपमा पनि काठमाडौंमा नै सर्वाधिक शाखा छन् ।
बैंकिङ पहुँचमा विभेद
बैंक-वित्तीय संस्थाका शाखा बढ्दै गएपछि प्रतिशाखा बैंकिङ सेवा पहुँच पनि बढेर एउटा शाखाले सेवा पुर्याउने जनसंख्याको अनुपात पनि २ हजार ९७४ मा झरेको छ । यद्यपि, काठमाडौं, ललितपुर, भक्तपुर, कास्कीलगायतका जिल्लामा एउटा शाखाले सेवा पुर्याउने जनसंख्या अनुपात २ देखि ३ हजारका बीचमा रहँदा जाजरकोट, अछाम, बैतडी,लगायतका जिल्लामा यो अनुपात १४ देखि १५ हजारका बीचमा बढी छ ।
यीमध्ये जाजरकोटमा एउटा बैंक शाखाबाट १५ हजार २९७ जनाले सेवा पाउँछन् भने अछामका १४ हजार ४११, बैतडीका १४ हजार २८, दैलेखका १२ हजार ९६३ जनाले मात्र बैंकिङ सेवा पाउँछन् ।जिल्लाकै समग्र जनसंख्या कम हुँदा मनाङ, मुस्ताङमा प्रतिशाखा बैंकिङ पहुँच ७ सय जनाभन्दा कम छ भने रसुवावमा यो अनुपात १ हजार ६१० जना छ ।
दुर्गम बाहेक प्रदेश नं २ जिल्लाहरू सिरहा, महोत्तरी, सर्लाही र रौतहटमा एउटा बैंक शाखाले कम्तिमा साढे ९ हजारदेखि १३ हजार जनालाई सेवा दिनुपर्ने अवस्था रहेको राष्ट्र बैंकको विवरणले देखाउँछ । कम बैंकिङ शाखा विस्तार भएका कारण प्रदेश २ मा बैंकिङ पहुँच समग्रमा प्रतिशाखा ९ हजार ८५२ जना छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बागमतीमा २ हजार ६१७ बैंक-वित्तीय संस्थाका शाखा रहँदा ‘क’ वर्गका वाणिज्य बैंकको शाखामात्र १ हजार ६०६ वटा छन् । यीमध्ये काठमाडौंमा वाणिज्य बैंकका ७९० शाखासहित बैंक-वित्तीय संस्थाका ७५९ वटा शाखा छन् ।
बागमतीपछि लुम्बनीमा सर्वाधिक बैंक-वित्तीय संस्थाका शाखा छन् । सो प्रदेशमा १ हजार ९५१ बैंक-वित्तीय संस्थाका शाखा छन्, तीमध्ये वाणिज्य बैंकका शाखा ६७५ वटा छन् ।
यसैगरी, प्रदेश १ मा १ हजार ५९८ बैंक-वित्तीय संस्थाका शाखा छन्, तीमध्ये वाणिज्य बैंकका शाखा ६९७ वटा छन् भने प्रदेश २ मा १ हजार ४९३ बैंक-वित्तीय संस्थाका शाखा छन्, तीमध्ये वाणिज्य बैंकका शाखा ५२९ वटा छन् ।
यस्तै, गण्डकी प्रदेशमा १ हजार ३१८ बैंक-वित्तीय संस्थाका शाखा छन्, तीमध्ये वाणिज्य बैंकका ५७३ वटा शाखा हुँदा कर्णाली र सुदूरपश्चिममा बैंकका शाखा अझै कम रहेको राष्ट्र बैंकको विवरणले देखाएको छ । कर्णालीमा जम्मा ३९४ वटामात्र बैंक शाखा छन्, तीमध्ये पनि वाणिज्य बैंकका शाखा १८८ मात्रै छन् भने सुदूरपश्चिममा बैंक-वित्तीय संस्थाका शाखा ७१५ वटा हुँदा वाणिज्य बैंकका शाखा ३१७ वटा छन् ।
प्रकाशित समय १४:२५ बजे

















