गृहपृष्ठ भोलीदेखि ५० प्रतिशत हकप्रद बिक्री गर्दै एशियन लाइफ
भोलीदेखि ५० प्रतिशत हकप्रद बिक्री गर्दै एशियन लाइफ
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदको बिक्री भोलीदेखि खुला गरिएको छ । बीमा समितिको निर्देशन बमोजिम २ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि २ बराबर १ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
एसियन लाईफ कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६.२० कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार माघ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका कम्पनीका शेयरधनीले मात्रै हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । हकप्रद शेयरमा फागुन १३ गते देखि चैत्र १८ गते सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
हाल ८० करोड ५५ लाख ९३ हजार २४० रुपैयाँ चुक्ता पूँजी भएको एशियन लाइफको हकप्रद निष्कासन पछि १ अर्ब २० करोड ८३ लाख ८९ हजार ८६० रुपैयाँ पुग्नेछ । एशियन लाइफ इन्स्योरेन्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका शेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
प्रकाशित समय ०८:२१ बजे