गृहपृष्ठ बैंकका चर्को ब्याजले आजीत भए देशभरिकै उद्यमी

बैंकका चर्को ब्याजले आजीत भए देशभरिकै उद्यमी

रुपन्देहीका उद्यमीले दिए तालाचाबी बुझाउने चेतावनी

Rupandehi_NewsKarobar

बैंक तथा वित्तीय संस्थाहरूले व्यापक रूपमा ऋणको ब्याजदर बढाउँदै गएपछि देशभरिकै उद्योगी व्यवसायी आजीत भएर उद्योगका तालाचाबी सरकारलाई बुझाउने अवस्थामा पुगेका छन्। बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभावका नाममा उद्योगधन्दा नै बन्द हुने तथा आर्थिक गतिविधिमा प्रभाव पर्ने गरी ऋणको ब्याजदर बढाउँदै गएको भन्दै रुपन्देहीका उद्योगीहरू आन्दोलित भएका छन् ।
बुटवलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले यस विषयमा सरकारले तत्काल कदम नचालेमा कडा अन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।
रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद भट्टराईले बैंकहरूले हचुवाको भरमा ब्याजदर बढाउँदा उद्योगधन्दामा प्रत्यक्ष असर परेको गुनासो गरे । बैंकहरूले उद्योगधन्दा नै बन्द हुने गरी बिनाजानकारी १६ प्रतिशतसम्म ऋणको ब्याज बढाएर सम्झौताविपरीत काम गरेको उनको आरोप छ ।
ऋण लगानी गर्दा भएको सम्झौताविपरीत एकतर्फी रुपमा आम ऋणीहरूलाई ब्याज बढेको पत्र पठाउने काममात्र नगरी बढेको ब्याज दबाब दिएर असुल्ने गरिएको उद्योगीहरूले गुनासो गरेका छन् ।
नेपाल राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड दर) को नाममा बैंकहरूले अप्रत्याशित ढंगबाट कर्जाको ब्याजदर बृद्धि गरेको आरोप उद्योगीहरूले लगाएका छन् ।
“बैंकको ब्याजदर तत्काल नघटे हामी आमउद्योगी व्यवसायीहरू कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिन चाहन्छौं,” –उद्योग संघका अध्यक्ष भट्टराईले भने ।
व्याजदरका विषयलाई लिएर संघले नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र बुझाएको थियो । प्रदेश सरकारका मुख्यमन्त्रीलाई पनि समस्या समाधानका लागि अनुरोध गर्दै ज्ञापनपत्र समेत दिएका छन् ।
तत्काल बैंकको व्याजदर नघटे उद्योगको तालाचाबी सरकारलाई बुझाएर चरणबद्ध आन्दोलनमा उत्रने कार्यक्रम अगाडि बढाउन बाध्य हुने उद्योगीहरूको चेतावनी छ । यसअघि पूर्वका उद्योगी–व्यवसायीले पनि यस्तै चेतावनी दिइसकेका छन् ।

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु