गृहपृष्ठ अल्लोबाट बनेका कपडाप्रति आकर्षण

अल्लोबाट बनेका कपडाप्रति आकर्षण

फाइल तस्बिर

भृकुटीमण्डपमा जारी ‘१५ औँअन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’मा अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण बढेको देखिएको छ । महोत्सवमा अल्लोबाट बनेका कोट, ज्वारीकोट, इस्टकोट, टोपी, चप्पल, जुत्ता, सल, झोलामा मानिसको आकर्षण बढेको हो ।

प्यूठान नौबहिनी गाउँपालिका–६ स्थितको कोठी हिमाल अल्लो उद्योगकी सञ्चालिका चित्रकली बुढामगरले अल्लोबाट बनेका कपडा किन्न मानिसको आउने गरेको बताए  ।

उहाँको स्टलमा अल्लोबाट बनेको ढाकाटोपी रु ५०० देखि रु ८०० सम्म र ज्वारीकोट रु दुई हजार ५०० देखि रु पाँच हजारसम्म रहेको छ । उहाँले नेपाली सामग्रीबाट उत्पादन हुने भएकाले अल्लोका सामानप्रति मानिसको आकर्षण बढेको बताउनुभयो । सिस्नोको चार प्रजातिमध्ये एक जातबाट अल्लो बनाइन्छ । वर्षेनी वनजङ्गलमा सडेर कुहिएर गइरहेको अल्लोलाई प्रशोधन गरेर उक्त कपडा तयार पारिन्छ ।

‘रक्तचाप, मघुमेहजस्ता रोग लागेका मानिसलाई अल्लोबाट बनेका कपडा लगाउँदा राम्रो हुन्छ’, उनले भने, ‘नेपाली उत्पादनलाई बढवा दिन र स्वास्थ्यका कारणले पनि अल्लोबाट बनेको कपडा किन्न आउने गर्दछन् ।’ बुढामगरले सञ्चालन गरेको उक्त उद्योगमा अहिले आफ्नै परिवारका छ सदस्यसहित ५० लाई रोजगारी दिएका छन्। विसं २०६३ मा रु ९० हजार लगानीबाट सिस्नोलाई प्रशोधन गरी कपडा उत्पादन गर्न थाल्नुभएको उनकाे अहिले रु ५० लाखको उद्योग भएको छ ।

उनले १३ प्रतिशतबाट लिएको ब्याजलाई अहिले बंैकले १८ प्रतिशत पु¥याउँदा समस्या भएको बताए । ‘अहिले सहमतिविपरीत बैंकले ब्याजदर बढाउने गरेका छन्’, उहाँले भने, ‘यसबाट अहिले उद्योग सञ्चालन गर्ने मात्र काम भएको छ, नाफा हुनसकेको छैन ।’

यस्तै महोत्सवमा दाङ घोराहीस्थित चिनारी महिला साझेदारी उद्योग समूहमा पनि मानिसको अल्लोबाट बनेको कपडा किन्नेको भीड नै हुने गरेको छ । उद्योगकी सञ्चालिका प्रेमकुमारी पुन आफ्नो स्टलमा बढीजसो ढाकाटोपी र सानो–सानो पर्स किन्न मानिस आउने गरेको बताए ।

उनले दैनिक रु ३५ हजारसम्म अल्लोबाट बनेका कपडा बिक्री गर्ने बताए । उनकाअनुसार महोत्सवमा अल्लोको विशेषता बुझ्ने मानिस आउने गर्दछन् । उनले सरकारी कार्यालय, स्कूल, कलेजमा नेपालबाट उत्पादन हुने अल्लोको कपडा प्रयोग गरे व्यापार फस्टाउने बताए।

यस्तै महोत्सवमा भारत, बङ्लादेश र पाकिस्तानका छालाबाट बनेका सामग्री तथा साडीमा राखिएका छन् । यही फागुन २३ गतेबाट भृकुटीमण्डपमा सञ्चालन महोत्सव २७ गतेसम्म सञ्चालन हुनेछ । (रासस)

प्रकाशित समय ०६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु