गृहपृष्ठ लगानी सम्मेलनको प्राथमिकतामा ७७ परियोजना, अर्थमन्त्री भन्छन्, ‘करमा समस्या छैन’

लगानी सम्मेलनको प्राथमिकतामा ७७ परियोजना, अर्थमन्त्री भन्छन्, ‘करमा समस्या छैन’

सरकारले देशका ७७ वटा परियोजनाका लागि अन्तर्राष्ट्रिय लगानी आह्वान गर्ने भएको छ । चैत १५ र १६ गते हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा आयोजना अघि सारिने भएको हो । बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तालाई लगानीको सहज बाताबरण बनाउन ऐन, नियमावली, कार्यविधि बनाउने काम भइरहेको बताए ।

उनले नेपालको कर प्रणाली वैज्ञानिक रहेको र यसमा कुनै समस्या नरहेको दाबी पनि गरे । ‘सम्मेलनमा दर्जन बढी आयोजनामा सम्झौता गर्ने तयारी छ,’ उनले भने ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन लगानी सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । नेपालमा अहिले लगानी गर्न उपयुक्त वातावरण बनेको दाबी गर्दै उनले भनिन्, ‘अहिलेको सरकार पनि लगानीमैत्री देखिएको छ ।’

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानीका लागि कानुनी झमेलाहरु कम हुँदै गएको बताए । उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्माले विदेशी लगानी भित्र्याउने सरकारले गरेका नीतिगत सुधारकै कारण यसपटकको सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु