गृहपृष्ठ धातुजन्य खानी उत्खननमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
धातुजन्य खानी उत्खननमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. युवराज खतिवडाले सुनचाँदी व्यवसायीलाई धातुजन्य खानी उत्खननमा लगानी गर्न आग्रह गरेका छन् । सुनचाँदी व्यवसायी महासंघको छैटौं वार्षिक साधारणसभाको सोमबार रुपन्देहीमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले विदेशी लगानीकर्ता खानी उत्खननमा लगानी गर्न इच्छुक देखिए पनि सरकारले नेपाली व्यवसायीलाई प्राथमिकतामा राखेको स्पष्ट पारे । नेपालमा रहेको बहुमूल्य पत्थर तथा धातुहरु प्रशोधन नगरी सस्तो मूल्यमा निर्यात भइरहेको भन्दै प्रशोधन गरेरमात्र निर्यात गर्न व्यवसायीलाई उनले सुझाव दिए । अर्थमन्त्री खतिवडाले व्यवसायीलाई विदेश लैजाने सुनको अभिलेख राख्न पनि आग्रह गरे ।
कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले बजार मागको तुलनामा बैंकले व्यवसायीलाई अत्यन्त कम परिमाणमा सुन दिने गरेको बताए । व्यवसायीले प्राप्त गर्ने सुनको परिणाम नबढाए सुनचाँदी व्यवसाय समस्यामा पर्ने उनको भनाइ छ । महासंघमा मुलुकभरका २२ हजार व्यवसायी आबद्ध छन् भने ६१ वटा जिल्ला शाखा र ३० वटा एसोसिएट सदस्य छन् । साधारणसभा दुई दिन चल्नेछ ।
यसैबीच, महासंघको साधारसणसभामा सुनचाँदी व्यवसाय र आर्थिक विषयमा कलम चलाएको भन्दै एबिसी टेलिभिजनका पत्रकार रवीन्द्र पौडेललाई सम्मान गरिएको छ ।
प्रकाशित समय २०:१० बजे

















