गृहपृष्ठ मधेसको समृद्धि अब कसैले रोक्न सक्दैन : मन्त्री पण्डित
मधेसको समृद्धि अब कसैले रोक्न सक्दैन : मन्त्री पण्डित
नवलपुरको देवचुली नगरपालिका–१२ स्थित दिव्यनगर मृत्युङ सडक कालोपत्रेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शिलन्यास गरेका छन् । देवचुली नगरपालिका–१२ को प्रथम वडा दिवसका अवसरमा मन्त्री पण्डितले सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गरेका हुन् ।
सो अवसरमा मन्त्री पण्डितले सरकारले तराई मधेसको विकासमा उपेक्षा गरिरहेको बारम्बार गुनासो आउने गरेकाले नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारले पहिलो पटक तराई मधेश समृद्धि कार्यक्रम देशका २१ जिल्लामा लागू गरेको जानकारी दिए ।
उनले तराई मधेसको विकास र समृद्धिका लागि सो कार्यक्रममार्फत सुकुम्वासीका लागि आवस निर्माण, सडक, पुल, कल्भर्ट, विद्यालय भवन निर्माण तथा संस्कृति संरक्षणलगायतका कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै अब तराई मधेसको समृद्धि र विकास कसैले रोक्न नसक्ने बताए । उनले भने, ‘मधेसमा सरकारले केही गरेन भन्ने गुनासो रहिरहन्थ्यो । त्यही गुनासो सम्बोधन गर्न हामीले यो कार्यक्रम लागू गरेका हौँ ।’ मन्त्री पण्डितले सो जिल्लामा उक्त कार्यक्रममार्फत पहिलोपटक आयोजना परेकोमा आगामी दिनमा पनि सही योजना आए आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तिलक महत, प्रदेश सभा सदस्य रोशनबहादुर गाहा, देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठ, उपमेयर पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।
पाँच किलोमिटर सडक चालू आर्थिक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको तराई मधेश समृद्धि कार्यक्रमको १ करोड, देवचुली नगरपालिकाको १० लाख र स्थानीयबासीको जनसहभागितामा निर्माण हुने नेकपाका प्रदेश १ कमिटीका सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।
प्रकाशित समय १४:४८ बजे

















