गृहपृष्ठ त्रिशूली थ्री ‘ए’ को विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
त्रिशूली थ्री ‘ए’ को विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । बिहीबार नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ–५ पावर हाउसमा रहेको स्विच दबाएर विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडेका हुन् ।
आयोजनाबाट शुक्रबारबाट लगातार ७२ घण्टे परीक्षण उत्पादन हुनेछ । पहिलो युनिटबाट ३० मेगावाट उत्पादन सुरु भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
दोस्रो युनिट ३० मेगावाट असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना सुरु भएको ९ वर्षपछि विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो ।
कूल लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम ब्याङ्कको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।
इन्जिनियरिङ, खरीद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सीजीजीसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०) मा ठेक्का सम्झौता भएको थियो ।
१७ जेठ २०७१ (३१ मे २०१४) भित्र निर्माण सक्ने गरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायत कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि म्याद १६ असार २०७३ (३० जून २०१६)सम्म थपिएको थियो ।
भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ (३० अप्रिल २०१९) सम्म थप गरेको थियो ।
प्रकाशित समय १७:१३ बजे

















