गृहपृष्ठ नेपालको १५१ देशसँग व्यापार, २३ देशसँग नाफा
नेपालको १५१ देशसँग व्यापार, २३ देशसँग नाफा
नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महिनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा छ । व्यापार नाफामा रहेका मुलुकको कारोबार भने असाध्यै न्यून छ । नाम मात्रैको व्यापार ती देशसँग भएको विवरणमा उल्लेख छ ।
छिमेकी देश चीन र भारतसँगको व्यापार घाटाको मात्रा सबैभन्दा बढी छ । भारतबाट ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजारबराबरको सामान आयात भएको छ । नेपालबाट ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजारबराबरको मात्रै निर्यात भएको छ ।
निर्यातभन्दा आयातको मात्रा बढी भएका कारण भारतसँग ठूलो परिमाणमा व्यापार घाटा भएको देखिन्छ । भन्सार विभागको विवरणका आधारमा हेर्ने हो भने भारतसँग ६ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार बराबरको व्यापार घाटा छ ।
यस्तै, उत्तरी छिमेकी देश चीनबाट एक खर्ब ५३ अर्ब ९६ करोड ५६ लाख मूल्यबराबरको सामान आयात हुँदा एक अर्ब ५२ करोड ३२ लाख ६१ हजार मूल्यबराबरका सामानमात्र निर्यात भएको छ । चीनसँग नेपालको व्यापार घाटा एक खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार छ ।
नेपालको व्यापार घाटा हुने देशमा संयुक्त अरब इमिरेट्ससमेत छ । यूएइसँग २६ अर्ब ७० करोड चार लाख ६२ हजार बराबरको व्यापार घाटा छ । यूएइबाट २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजार बराबरको सामान आयात हुँदा ११ करोड ८७ लाख ३३ हजार बराबरको मात्रै निकासी भएको छ ।
नेपालको व्यापार घाटा रहेको देशमा फ्रान्ससमेत रहेको छ । फ्रान्ससँग रु १६ अर्ब ४० करोड ११ लाख ४७ हजार बराबरको व्यापार घाटा रहेको छ । फ्रान्सबाट रु १७ अर्ब ३६ करोड ७९ लाख ७४ हजार बराबरको सामान आयात गर्दा रु ९६ करोड ६८ लाख बराबरको मात्रै सामान निकासी भएको छ ।
इण्डोनेसिया, थाइल्याण्ड, क्यानाडा, मलेसिया, स्विटजरल्याण्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरब, युक्रेनलगायतका देशसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको विवरणमा उल्लेख छ ।
नेपालको कुल व्यापार हुने मुलुकमध्ये बहामासमा आठ लाख ६९ हजार, यमन एक करोड ८२ लाख ८७ हजार, अल्जेरिया ६ करोड ८६ लाख ४७ हजार, एन्टिगुआ र बर्मुडा दुई लाख ७८ हजार, न्यु क्यालेडोनिया एक करोड ६६ लाख ६१ हजार, गुयना २८ लाख ५१ हजार, अजरबैजान १८ लाख ८४ हजार र पानामा २३ लाख १६ हजारबराबरको सामान निर्यात भई नाफामा रहेको पाइएको छ ।
चालू आवको नौ महिनामा १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख चार हजारबराबरको आयात भएको छ । यस्तै, सोही अवधिमा ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार बराबरको मात्रै सामान निर्यात भएको छ । व्यापार घाटा मात्रै नौ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५७ हजारबराबरको रहेको छ ।
विभागका अनुसार कुल ४६ मुलुकमा भने कुनै पनि मालवस्तु निर्यात हुन सकेका छैनन् । सार्क मुलुकमध्ये पाकिस्तानसँग पनि ४५ करोड १४ लाख ४६ हजारबराबरको व्यापार घाटा छ भने भुटानसँग एक अर्ब पाँच करोड ६० लाख ५५ हजारबराबरको घाटा रहेको छ । श्रीलंकासँग २१ करोड ७२ लाख ६८ हजार व्यापार घाटा रहँदा अफगानिस्तानसँग भने एक करोड ४७ लाख ८४ हजारबराबरको नाफामा छ । यस्तै बंगलादेशसँग दुई अर्ब ४६ करोड सात लाख ५८ हजारबराबरको व्यापार घाटा रहेको छ । (रमेश लम्साल/रासस)
प्रकाशित समय १७:१७ बजे

















