गृहपृष्ठ ढुकुटीमा पैसा थन्क्याउँदै, ऋण उठाउँदै सरकार
ढुकुटीमा पैसा थन्क्याउँदै, ऋण उठाउँदै सरकार
सरकारले असारमा मात्रै ५० अर्ब आन्तरिक ऋण उठाउने
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म पर्याप्त बजेट खर्च गर्न नसकेको सरकारले धमाधम आन्तरिक ऋण उठाउन थालेको छ, तर त्यो रकम राज्यको ढुकुटीमा पैसा नभएर भने उठाइएको होइन; वित्तीय सन्तुलनका लागि बजेटको लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन थालिएको हो ।
सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले वैशाख मसान्त अर्थात् चालू आर्थिक वर्षको पहिलो १० महिनामा केबल ५० प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ । अर्थात्, १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएकोमा केबल ६ खर्ब ६० अर्ब रुपैयाँमात्र खर्च गर्नसकेको छ भने यसबीचमा ५ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व उठाइसकेको छ । यस्तै, चैत मसान्तसम्म १ खर्ब १२ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ, जसमध्ये १८ अर्ब ४४ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ६९ करोड रुपैयाँ ऋण रहेको छ ।
राजस्व लक्ष्यभन्दा कम उठे पनि सरकारी खर्चको वृद्धिदर कम भएको र विदेशी सहयोग पनि उल्लेख्य अनुपातमा प्राप्त भएपछि वैशाख मसान्तसम्म सरकारको खातामा १ खर्ब ४० अर्ब रुपैयाँ सञ्चितिमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
खर्च नै गर्न नसके पनि सरकारले चालू त्रैमासिकभित्र आन्तरिक रूपमा ८६ अर्ब रुपैयाँ उठाउने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनाभित्रमा सरकारले १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ भने जेठ महिनाभरिमा २४ अर्ब रुपैयाँ उठाइनेछ । यसैगरि असारमा ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
यसरी आर्थिक वर्षको अन्तिम समयमा एकै पटक आन्तरिक ऋण उठाउनुलाई अर्थविज्ञहरूले भने वित्तीय असन्तुलन सिर्जना गर्ने नीतिका संज्ञा दिएका छन् । विभिन्न नाममा जारी गरिने ऋणपत्रहरू आमनागरिकले भन्दा बैंकहरू र सरकारका वित्तीय संयन्त्रहरूले किन्ने गरेका छन् । एकै पटक अर्बौंको ऋणपत्र किन्नु पर्दा त्यसले वित्तीय क्षेत्रको तरलतामा असर पार्ने विज्ञहरूले बताएका छन् ।
प्रकाशित समय १८:४८ बजे

















