गृहपृष्ठ रेमिट्यान्स धेरै भित्र्याउने देशहरूमध्ये नेपाल पाँचौं
रेमिट्यान्स धेरै भित्र्याउने देशहरूमध्ये नेपाल पाँचौं
गत वर्ष झन्डै नाै खर्ब रेमिट्यान्स भित्रियो
नेपाल देशको अर्थतन्त्रको तुलनामा सर्वाधिक धेरै रेमिट्यान्स भित्र्याउने देशहरूमध्ये पाँचौ स्थानमा परेको छ । विश्व बैंकद्वारा सार्वजनिक गरिएको रेमिट्यान्ससम्बन्धी प्रतिवेदन–२०१९ अनुसार सन् २०१८ मा नेपालले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २८ प्रतिशत रेमिट्यान्स भित्र्याएको छ ।
बैंकका अनुसार गत वर्ष नेपालले ८ अर्ब १० करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको छ । नेपाली पैसामा परिणत गर्दा याे झन्डै ८ खर्ब ९० अर्ब रूपैयाँ हुन्छ । यो हालसम्मकै उच्च रेमिट्यान्स प्राप्ति हो । सन् २०१७ को तुलनामा २४ प्रतिशतले रेमिट्यान्स बढेको बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१७ मा नेपालले ६ अर्ब ९२ करोड रेमिट्यान्स भित्र्याएको थियो ।
जीडीपीका आधारमा सर्वाधिक धेरै रेमिट्यान्स भित्र्याउने देशहरूमा टोंगा, दोस्रो स्थानमा कीर्गिज रिपब्लिक, तेस्रो स्थानमा ताजिकिस्तान, चौथौ स्थानमा हैटी र पाँचौ स्थानमा नेपाल रहेका छन् ।
रकमको आधारमा गत वर्ष भारत विश्वकै सर्वाधिक रेमिट्यान्स भित्र्याउने देश बनेको छ । गत वर्ष भारतले ७८.७ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्यायो भने दोस्रो स्थानमा रहेको चीनले ६७ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको छ । भारतको केरलामा गएको बाढीपछि विदेशमा रहेका आप्रवासी कामदारहरूले आफ्नो घरको सहयोगका लागि रकम बढी पठाउँदा भारतमा रेमिट्यान्स बढेको विश्व बैंकको ठहर छ ।
दक्षिण एसियाली मुलुकहरूमध्ये भारतपछि पाकिस्तान छ, उसले २१ अर्ब अमेरिकी डलर भित्र्याएको छ भने बंगलादेशले १५ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको छ । ती दुवै देशको मुख्य रेमिट्यान्सका स्रोत मुलुकका रुपमा रहेको साउदी अरबमा परेको मन्दीको असरले रेट्यिान्सको वृद्धिदर पनि औसत रहेको जनाइएको छ ।
प्रकाशित समय १२:३७ बजे

















