गृहपृष्ठ निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो, गल्ती कसको ?

निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो, गल्ती कसको ?

Beni-Myagdi-pul-newskarobar

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा निर्माणाधीन मोटरेबल पुल शनिबार दिउँसो बाढीले बगाएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ । दिउँसो करिब एक घण्टा लगातार परेको वर्षापछि आएको बाढीले निर्माणाधीन पुल बगाएको प्रत्यक्षदर्शी गंगा पुनले जानकारी दिए ।

बाढीका कारण वरपरका बस्ती कटानको जोखिममा परेका छन् । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । ४० मिटर लामो पुल निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चरबीच विसं २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । पाँच करोड ७६ लाख ८० हजार ५५६ रुपैयाँमा सम्झौता भएको पुल २०७५ असार २९ गते सम्पन्न गर्ने लक्ष्य थियो । एघार मिटर फराकिलो पुलको गाडी हिँड्ने भाग शुक्रबार मात्र ढलान सकिएको थियो । दुईतर्फ मानिस हिँड्ने पेटी ढलान गर्न बाँकी भएको अवस्थामा बाढीले बगाएको निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले बताए ।

डाइभर्सन भत्काएर ढालन अड्याउन ठड्याइएको सटिङ बगाएपछि पुल भत्किएको हो । पुल बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको कार्कीको भनाइ छ । पुलको पिल्लरमात्र बाँकी थियो ।

आयोजनाका अनुसार यो पुल प्रिस्टिड प्रविधिको हो । हाल घट्टेखोलाबाटै सवारीसाधन आवतजावत गर्छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनका अनुसार बाढी आउँदा र बर्खाको समयमा सवारी आवतजावत बन्द हुने गरेको छ । (रासस)

प्रकाशित समय ०७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु