गृहपृष्ठ मुक्तिनाथको जीवन वरदान बचत योजनामा उच्च आकर्षण
मुक्तिनाथको जीवन वरदान बचत योजनामा उच्च आकर्षण
विकास बैंकमा अग्रणी मुक्तिनाथ विकास बैंकले ल्याएको जीवन वरदान बचत योजनामा ग्राहकको उच्च आकर्षण देखिएको छ । ग्राहकको स्वास्थ्य र स्वास्थ्योपचारलाई ध्यानमा राखेर ल्याइएको यो योजनामा न्यूनतम १० हजार बचतमै ५ लाख रुपैयाँको क्यान्सरविरूद्धको बिमा हुने भएपछि बचतकर्ता आकर्षित भएका हुन् ।
वित्तीय संस्थामा क्यान्सरविरुद्धको सुरक्षा योजना नेपालमै पहिलोपटक मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्याएको मार्केटिङ एन्ड कर्पोरेट अफेयर प्रमुख वसन्त बक्सीले जानकारी दिए । बैंकले ल्याएका ग्राहक लक्षित योजनामा जीवन वरदान बचत, जीवन बचत प्लस र जीवन वरदान प्रिमियम गरी तीनवटा खाता योजना रहेको उनले बताए । जीवन वरदान बचत खातामा न्यूनतम १० हजारमा ५ लाख बराबरको क्यान्सर बिमा योजना छ । ‘यो बचत खातामा सहभागी ग्राहकलाई खाता खोलेको ९० दिनपछि लाइफ थ्रेटनिङ क्यान्सर भएको थाहा भएमा ५ लाख रुपैयाँको बिमा बिनाझन्झट उपलब्ध गराउँछौँ,’ बक्सीले भने । नयाँ योजनामा बैंकमा रहेका पुराना ग्राहक पनि खाता परिवर्तन गरेर आउने गरेको उनले जानकारी दिए ।
त्यस्तै, जीवन बचत प्लस भन्ने खाता योजना छ । जसमा १० लाख रुपैयाँबराबरको दुर्घटना मृत्यु बिमा समावेश छ । यसमा क्यान्सर उपचारको बिमा छैन । क्यान्सर र दुर्घटना मृत्यु बिमा दुवै चाहने ग्राहकले जीवन वरदान प्रिमियम खाता योजनामा सहभागी भई न्यूनतम २० हजार वचत गर्नुपर्ने बैंकले जनाएको छ ।
यसबाहेक सरकारले १ सय रुपैयाँमा खाता खोल्न जारी गरेको परिपत्रअनुसार बैंकले २ सय रुपैयाँ हालिदिने योजना ल्याएको छ । त्यसमा १ सय रुपैयाँ बैंकले हालिदिने र १ सय रुपैयाँबराबरको मोबाइलमा रिचार्ज गरिदिने गरेको छ । त्यसैगरी लकरमा विशेष छुट, नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएममा भिसा कार्ड निःशुल्क प्रयोग, पहिलो वर्षका लागि एटिएम कार्ड निःशुल्क र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका सुविधा बैंकले निःशुल्क गरेको छ । बैंकले बचतमा ७ प्रतिशत ब्याज दिएको जनाएको छ ।
२०६३ सालमा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको अनुमति प्राप्त गरेर स्थापना भएको मुक्तिनाथ विकास बैंक धादिङको सिभिक डेभलपमेन्ट बैंकलाई आफूमा गाभेपछि राष्ट्रिय स्तरको बनेको हो । हाल यो बैंकका देशभर ११३ शाखा, एक एक्सटेन्सन काउन्टर र ९३ वटा माइक्रोफाइनान्स डेस्क छन् । चार लाखभन्दा बढी ग्राहक रहेको बैंक विकास बैंकमध्ये नेपालकै ठूलो बैंक हो ।
प्रकाशित समय ०६:५३ बजे

















