गृहपृष्ठ बुधबारदेखि औपचारिक रुपमा तातोपानी नाका खुल्ने
बुधबारदेखि औपचारिक रुपमा तातोपानी नाका खुल्ने
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प गएदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाकाबाट मंगलबार चारवटा खाली कन्टेनर चीन प्रवेश गरेका छन् । नेपाल चीनको प्रमुख व्यापारिक उक्त नाका उद्योग, वाणिज्य तथा आपूर्तिन्त्री र चिनियाँ अधिकारीले बुधबार (भोलि) औपचारिक रुपमा शुभारम्भ गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए ।
भोटेकोसी गाउँपालिकामा नेपाल र चीन सरकारको अध्यागमन प्रमुखको रोहवरमा १० जना नेपाली र चारवटा खाली कन्टेनरलाई खासा प्रवेशका लागि अस्थायी पास उपलब्ध गराइएको थियो । सोही अनुरुप ती कन्टेनर चिनियाँ सामान लिएर बुधबार नेपाल भित्रिने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । नाका खुलाउने सिलसिलामा मंगलबार नै चिनियाँ राजदूत होउ यान्छी निरीक्षणका लागि तातोपानी पुगेकी छन् । राजदूत यान्छीले गाउँपालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गरिन् ।
अरनिको राजमार्ग र तातोपानी क्षेत्रको सीमा पुल निर्माणसहित सबै काम सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा लार्चास्थित भोटेकोसीको ११२ मिटर पक्की पुलका साथै ५०० रोपनी क्षेत्रमा फैलिएको अत्याधुनिक सुक्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भइसकेको छ ।
यसअघि, सीमापुलस्थित लिपिङबाट भन्सारको काम हुँदै आएकामा त्यहाँदेखि ६.५ किलोमिटर तलरहेको लार्चाबाट सबै काम हुने भएको छ । त्यसैगरी, अरनिको राजमार्गको बसेरीदेखि सीमापुलसम्मको बाटो चीन सरकार र त्यहाँदेखि बाह्रबिसेसम्म सडक डिभिजन कार्यालय दोलखाद्वारा निर्माण गरिएको इन्जिनियर प्रदीप निरौलाले बताए । (रासस)
प्रकाशित समय २१:१३ बजे

















