गृहपृष्ठ सुनकोशी-मरिन डाइभर्सन : ८४ अर्बको आयोजना, २ अर्ब बजेट

सुनकोशी-मरिन डाइभर्सन : ८४ अर्बको आयोजना, २ अर्ब बजेट

sunkoshi-marin-newskarobar

लामो समयदेखि चर्चामा रहेको सुनकोशी-मरिन डाइभर्सनलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको छ । विद्युत उत्पादनसँगै तराईका पाँच जिल्लामा सिँचाइ सुविधाका लागि निर्मण गर्न लागिएको यो आयोजनालाई सरकारले विशेष महत्व दिँदै आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेको हो ।

तर, राष्ट्रिय गौरवमा राखिएको अत्यन्तै महत्वको आयोजनाका लागि सरकारले जम्मा २ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । जबकि, आयोजनाको अनुमानित कुल लागत भने ८४ अर्ब रुपैयाँ छ । विद्युत् गृह र सुरुङ निर्माणतर्फ ५२ अर्ब ८८ करोड तथा सिँचाइतर्फ ३२ अर्ब लागत अनुमान गरिएको हो ।

सुनकोसी-मरिन डाइर्भसन आयोजना प्रदेश २ का बारा, पर्सा, रौतहट, सर्लाही र सिरहाका खेतीयोग्य जमिनको सिँचाइ सुविधाका लागि निर्माण गर्न लागिएको हो । यसबाट करिब १ लाख २२ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाई पुग्नेछ । आयोजनामा १३.१ किलोमिटर लामो सुरुङ बन्नेछ ।

परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चालू आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न गर्ने सरकारको तयारी छ । यसअन्तर्गत हाल वातावरणीय प्रभाव मूल्यांकन, जग्गा प्राप्ति र अन्य प्राविधिक काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

आयोजनामा टिबिएम प्रविधि
आयोजनालाई टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधि प्रयोग गरेर आयोजना अघि बढाइने भएको छ । भेरी-बबई डाइभर्सन आयोजनामा पहिलो पटक प्रयोग भएको टिबिएम प्रविधिबाट सफलतापूर्वक नदी स्थानान्तरण कार्य सफल भएपछि सरकारले सुनकोशी-मरिनमा पनि सोही प्रविधि प्रयोग गर्न लागेको छ । टिबिएम प्रविधि प्रयोग गरिएको भेरी-बबई डाइभर्सन आयोजनामा नदी स्थानान्तरण कार्य लक्षित समयभन्दा एक वर्षअगावै सम्पन्न भएको थियो । त्यसअघि नेपालमा ‘ड्रिलिङ एन्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खनिँदै आएको थियो ।

प्रकाशित समय ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु