गृहपृष्ठ राजस्वलाई चुहावट नियन्त्रण गर्न वेब पोर्टल

राजस्वलाई चुहावट नियन्त्रण गर्न वेब पोर्टल

rajswa-newskarobar

राजस्व अनुसन्धान विभागले मालबाहक गाडी भित्रिएको र बाहिरिएको यकिन तथ्यांक लिन वेब पोर्टल सञ्चालनमा ल्याएको छ । विभागले सोमबार पत्रकार सम्मेलन गरेर वेब पोर्टल कार्यान्वयनमा ल्याएको जानकारी दिएको हो ।

विभागले हाल परीक्षण गरिरहेको पोर्टलमा उद्गम विन्दुबाट मालसामान बोकेर मालबाहक गाडी प्रस्थान गर्नुअघि सम्पूर्ण विवरण वेबसाइटमा उपलब्ध ढाँचामा प्रविष्ट गर्नुपर्छ । सामानको विवरणसँगै गाडी नम्बर, चालकको नाम, सवारी चालक अनुमतिपत्रको विवरणसमेत उल्लेख गर्नुपर्नेछ । त्यसैगरी, सामान पैठारी गर्ने फर्मको नाम तथा स्थायी लेखा नम्बर, सामानको प्रकृति एवं परिमाण पनि त्यहीँ उल्लेख गर्नुपर्नेछ ।

सामान बोकेको गाडी गन्तव्यमा पुगेपछि यसबारे व्यवसायी आफैँले पुनः वेबसाइट वा एप्समार्फत घोषणा गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसका लागि वेबसाइटका साथै मोबाइल एप्ससमेत निर्माण गरिएको छ । सामान प्राप्त गर्ने व्यवसायीले पनि आफ्नो नाम, स्थायी लेखा नम्बर, बुझेको सामानको विवरण अनलाइनमा उल्लेख गराउनुपर्छ ।

असारबाट आंशिक रुपमा सुरुवात गरिएकोे पोर्टल साउनबाट पूर्ण कार्यान्वयनमा आउने बताइएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले पोर्टल पूर्ण रुपमा कार्यान्वयनमा आएपछि चेकपोस्ट नरहने जानकारी दिए । राजस्व चुहावट नियन्त्रण ऐनको व्यवस्थाअनुसार नै केन्द्रीय वेब प्रणाली बनाएर सम्पूर्ण विवरण अनलाइनबाटै थाहा हुने प्रणाली बनाउन लागिएको उनले बताए । यसले पोर्टलले कुन सामान बोकेको गाडी कुन अवस्थामा छ भन्नेसमेत जानकारी दिनेछ ।

प्रकाशित समय १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु