गृहपृष्ठ नेपालीले खान्छन्, वार्षिक ६३ हजार टन चाउचाउ

नेपालीले खान्छन्, वार्षिक ६३ हजार टन चाउचाउ

विश्वमै धेरै चाउचाउ खाने देशमा नेपाल तेस्रो

Noodles_NewsKarobar copy

विश्वमै धेरै चाउचाउ र यस्तै खालका ‘नुडल्स’ खाने देशहरूमध्ये नेपाल प्रतिव्यक्ति उपभोगका आधारमा तेस्रो प्रमुख देशमा परेको छ । ‘वर्ल्ड इन्स्ट्यान्ट नुडल्स एसोसिसयन’ (विना)का अनुसार प्रतिव्यक्ति उपभोगका आधारमा कोरिया पहिलो नम्बरमा छ भने त्यसपछि भियतनाम र नेपाल परेका छन् ।

उक्त संस्थाका अनुसार कोरियामा चाउचाउ उपभोग प्रतिव्यक्ति औसत चाउचाउ उपभोग ७३ दशमलव ७ ‘सर्भिङ्स’ रहेको छ भने भियतनाममा ५३ दशमवलव ५ र नेपालमा ५१ दशमलव १ ‘सर्भिङ्स’छ । एक ‘सर्भिङ्स’मा औसत ७० ग्राम चाउचाउ हुन्छ । यसको अर्थ कोरियालीहरूले वार्षिक औसत ७४ प्याकेट चाउचाउ खाँदा नेपालीहरूले ५१ प्याकेट चाउचाउ खान्छन् ।

विश्वभरिका तयारी चाउचाउ उत्पादक कम्पनीहरूको संगठन विनाका अनुसार विश्वमै सर्वाधिक चाउचाउ उपभोग हुने १५ देशमध्ये १० वटा एसियामै पर्छन्, नेपाल यो सूचीको १३ औं स्थानमा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा रहेका चाउचाउ उद्योगहरूको जडित क्षमता ८५ हजार मेट्रिक टन रहेकोमा आर्थिक वर्ष २०७४/७५ मा ६२ हजार १२३ टन उत्पादन भएको थियो । गत आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा चाउचाउ उद्योगको जडित क्षमता ५० हजार ५० टनमा रह्यो भने ३२ हजार ६३ टन उत्पादन भयो । अघिल्लो वर्ष ०७४/७५को ६ महिनामा ३१ हजार ७१३ टन उत्पादन भएको थियो ।

नेपालभरि झन्डै एक दर्जन चाउचाउ उद्योग रहेकोमा अहिले मुख्यरुपमा तीन वटा ठूला चाउचाउ उद्योगहरू चौधरीको वाइवाई, शारदा ग्रुपको रमपम, केसी समूहको राराबीच मुख्य प्रतिष्पर्धा छ । झापामा गत वर्षमात्र झन्डै एक अर्ब रुपैयाँको लागतमा मनषा थाइ फुड्सले बजारमा आफ्ना उत्पादनहरू पठाउन थालिसकेको भए पनि तीव्र बजारीकरण गर्न नसकेकाले खासै बजार हिस्सा ओगट्न सकेको छैन ।

सीजी फुड्स, गण्डकी नुडल्स, एसियन थाई फुड्स, क्वालिटी थाई फुड्स्, स्मार्ट फुड्स, जगदम्बा फुड्सलगायतका कम्पनीले अहिले बजारमा विभिन्न ब्रान्डका चाउचाउ उत्पादन गरेर पठाउने गरेका छन् । कुनै समय चौधरीको वाइवाइसँग सोझो प्रतिष्पर्धा गरिरहेको खेतान ग्रुपको हिमालयन स्न्याक्स एन्ड नुडल्स भने अहिले बन्द छ ।
हाल चाउचाउ उद्योगहरू काठमाडौं, विराटनगर, पोखरा, रुपन्देही–भैरहवा, नवलपरासीमा स्थापना भएका छन् ।

चौधरी ग्रुपका एक आन्तरिक प्रतिवेदन अनुसार उक्त समूहद्वारा नेपाल भारत, साइबेरियालगायतका मुलुकको प्लान्टहरूबाट वार्षिक २.२ अर्ब प्याकेट चाउचाउ उत्पादन हुने गरेको छ । नेपालमै रहेका तीन वटा प्लान्टको प्रतिमिनेट ६१५ प्याकेट चाउचाउ उत्पादन क्षमता छ ।

चौधरी ग्रुपले नेपाली चाउचाउ बजारको ४५ प्रतिशत हिस्सा ओगटेको दाबी गर्दै आएको छ भने रमपमलगायतका ब्रान्ड उत्पादन गर्दै आएको एसियन थाइ फुड्स २० देखि २५ प्रतिशत बजार हिस्सा आफ्ना उत्पादनले ओगटेको दाबी गरेको छ ।

यस्तै, रारा चाउचाउका उत्पादक गण्डकी नुडल्सले कुल ‘ह्वाइट नुडल्स’ बजारको ७० प्रतिशत आफूले ओगटेको दाबी गरेको छ । समग्र चाउचाउ बजारमा भने उसको हिस्सा १५ प्रतिशतको हाराहारीमा भएको दाबी छ ।

चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट (उत्पादन) जीपी साहले एक अन्तर्वार्तामा चाउचाउको कारोबारमात्र साढे ७ अर्ब रुपैयाँ भएको बताएका छन् । यो विश्व बजारको समेत कारोबार हो ।

नेपालका बजारमा मात्र वार्षिक ३ अर्ब रुपैयाँको वाइवाइ बिक्री हुने गरेको सोही ग्रुपको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसलाई बजार हिस्साको ४५ प्रतिशत मान्दा नेपालीहरूले बर्सेनि  सवा ७ अर्ब रुपैयाँको चाउचाउमात्रै खाने गरेको देखिन्छ । यसमा साना तथा घरेलु उद्योगहरूले उत्पादन गर्ने सिन्के चाउचाउको कारोबार रकम जोडिएको छैन ।

चाउचाउ उद्योगीहरूका अनुसार नेपालका चाउचाउको बजार वार्षिक २० देखि २५ प्रतिशतले बढ्दै गएको छ ।

‘कोरियनहरूले अत्याधिक चाउचाउ खान्छन्, रेष्टुराँ तथा स्टलहरूमा समेत चाउचाउ पाइन्छ । भियनाम र नेपालमा तयारी चाउचा ब्रेकफास्ट र रात्रिको स्न्याक्सका रूपमा प्रचलित छ,’ विश्व चाउचाउ उत्पादक एसोसियसन (विना)ले भनेको छ ।

एसोसियसनका अनुसार नेपालमा ‘ब्राउन’ र ‘ह्वाइट’ नुडल्सको प्रचलन भए पनि बढीमात्रामा ‘ब्राउन’ चाउचाउ खपत हुने गरेको छ । पहिला नै मसाला हालेर पकाइ सकिएको यस्तो चाउचाउ काँचै र पकाएर दुवै रुपमा खाने गरिएको उसले जनाएको छ ।

उक्त संस्थाका अनुसार नेपालको वार्षिक चाउचाउ खपत वार्षिक १ अर्ब ४८ करोड ‘सर्भिङ्स’ रहेको छ । जनसंख्या र उपभोगका आधारमा विश्वकै पहिलो स्थानमा रहेको चीनमा वार्षिक चाउचाउ खपत ३८ अर्ब ९८ करोड ‘सर्भिङ्स’ रहेको छ भने छिमेकी मुलुक भारतमा ५ अर्ब ४२ करोड ‘सर्भिङ्स’ रहेको छ ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु