गृहपृष्ठ उद्योगमन्त्री यादवसँग लिथुआनिया र कुवेतका राजदूतको भेटवार्ता

उद्योगमन्त्री यादवसँग लिथुआनिया र कुवेतका राजदूतको भेटवार्ता

mantri-matrika-yadav-newskarobar

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत जुलियस प्रिनिभियस र नेपालका लागि कुवेतका गैरआवासीय राजदूत जेसिम इब्राहिमले मंगलबार छुट्टाछुट्टै भेटघाट गरेका छन् । मन्त्री यादवसँग दुवै राजदूतले मन्त्रालयमै भेटवार्ता गरेका हुन् ।

मन्त्री यादव र राजदूतहरुबीच राजनीतिक स्थायित्वका साथै नेपालमा गर्न सकिने लगानीका क्षेत्रबारे कुरा भएको थियो । भेटघाटमा मन्त्री यादवले नेपालमा लगानीमैत्री नीति, कानुन तथा वातावरण भएको भन्दै दुई ठूला अर्थतन्त्रबीच नेपाल रहेकाले बजारको समेत ठूलो सम्भावना भएको जानकारी गराए । ‘नेपालमा अहिले दुई तिहाइको स्थिर सरकार रहेकाले लगानीका लागि उचित राजनीतिक वातावरण छ,’ मन्त्री यादवले भने, ‘सुखी नेपाली समृद्ध नेपाल लक्ष्य लिएको सरकारले विदेशी लगानीलाई प्राथमिकतामा राखेको छ ।’

मन्त्री यादवले नेपालका चिया, कफी, अदुवा, अलैँची, गलैँचा र कार्पेट, जडिबुटी, पस्मिना र घरेलु हस्तकलाका सामान निर्यातका लागि आवश्यक पहल गर्न पनि राजदूतहरुलाई आग्रह गरे । नेपालबाट उच्च हिमाली क्षेत्रको सफा पानी निर्यात गर्न सकिने र त्यसमा लगानीका लागि आफ्ना देशका निजी क्षेत्रलाई जानकारी गराउन पनि आग्रह गरे ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफ्नो देशका नागरिकलाई पर्यटकको रुपमा नेपाल भ्रमणमा पठाउनसमेत मन्त्री यादवले दुवै देशका राजदूतलाई आग्रह गरे । राजदूतहरुले लगानीका लागि उचित समय भएको र यस सम्बन्धमा निजी क्षेत्रबीचको सम्बन्धमा काम गर्न सहज हुने जानकारी गराए ।

कुवेती राजदूतले कुवेत लगानी प्राधिकरणमार्फत नाफाजन्य परियोजनामा लगानी गर्न सकिने भन्दै कुवेती फन्डमार्फत नरम लोनको क्षेत्रमा काम गर्न सकिने बताए । कुवेती फन्डमार्फत लगानी हुँदा परियोजना राम्रो भएमा लगानीको कुनै सीमा नहुनेसमेत जानकारी गराए । लिथुआनियाका राजदूतले लिथुआनियामा पानी उद्योगमा काम गर्ने ठूला उद्योग भएकाले यस सम्बन्धमा काम गर्न सकिने जानकारी गराए ।

प्रकाशित समय १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु