गृहपृष्ठ राइड सेयरिङ : सहज यात्राको सारथि

राइड सेयरिङ : सहज यात्राको सारथि

tootle2-newskarobar

चाडपर्व होस् या अन्य कुनै दिन आफ्नो सवारी नहुने र दिनहुँजसो सार्वजनिक सवारी साधनको प्रतीक्षामा रहने उपत्यकावासी अचेल सार्वजनिक यातायातको खासै भर पर्दैनन् । तीन वर्षदेखि उपत्यकामा भाडाका व्यक्तिगत सवारी साधन अर्थात् ‘राइड सेयरिङ’को ट्रेन्ड बढेसँगै यात्रा थप सहज बन्दै गएको छ ।

उपत्यकामा टुटल, पठाओ जस्ता ‘राइड सेयरिङ’ व्यवसाय फस्टाएसँगै यात्रुलाई गन्तव्यमा पुग्न पनि सहज भएको छ । नयाँ बानेश्वरमा भेटिएकी सुनिता खतिवडा टुटल भरपर्दो माध्यम भएको बताउँछिन् । ‘पहिले गाडी नपाउँदा समस्या हुन्थ्यो, घर कसरी पुग्न भन्ने चिन्ता हुन्थ्यो तर अचेल म टुटलबाट अनलाइन बुक गरेर जान्छु,’ उनी भन्छिन्, ‘ट्याक्सीभन्दा सस्तो पनि हुने र सुरक्षित रूपमा घर पुग्ने हुँदा मेरो लागि सहज भएको छ ।’

त्यस्तै भाटभटेनी पाटनमा कार्यरत संगीता विक पनि राइड सेयरिङको प्रयोगले राति पनि यात्रा गर्न सहज भएको बताउँछिन् । उनी राति ९ बजे कार्यालयबाट घर फर्किनलाई सधैं टुटलको मोबाइल एपको प्रयोग गर्छिन् । ‘राति पनि आफूले बुकिङ गरेको ५ देखि १० मिनेटभित्रमा आइपुग्छ, महँगो पनि छैन, यसले गर्दा राति हिँड्न पनि सजिलो भएको छ,’ उनले भनिन् ।

उनीहरूमात्र होइन, अधिकांश विद्यार्थी तथा युवामा यो सेवा लोकप्रिय बन्दै आएको छ । विशेषगरी विद्यार्थी र आफ्नो निजी सवारी साधन नभएकाहरूमा यो लोकप्रिय बनेको हो । अहिले उपत्यकामा सार्वजनिक यातायातमा यात्रा गर्नेमध्ये २० प्रतिशत यात्रुले अहिले ‘राइड सेयरिङ’को प्रयोग गर्ने गरेको टुटलका निर्देशक शिक्षित भट्टले बताए । उनले अहिले दिनमा कम्तीमा ४० देखि ६० वटा मोबाइल एपबाट बुकिङ हुने बताए । यस्तो बुकिङ गर्नेमा युवा र विद्यार्थी बढी हुने गरेको उनको भनाइ छ ।

tootle-newskarobar

निर्देशक भट्टले अहिले यात्रुमा विश्वसनीयता जमाउँदै गएका कारणले पनि होला, पहिले पुरुषहरूले बढी मात्रामा प्रयोग गर्ने भए पनि अहिले सबैले यसको प्रयोग गर्दै आएको बताए । ‘यो सेवा उपत्यकामा मात्र नभएर नेपालका अन्य क्षेत्रमा पनि विकास गर्न आवश्यक छ । सरकारले हामी राइड सेयरिङ व्यवसायीले सहयोग गर्ने हो भने मुलुकभर यो सेवा पुग्न सक्छ,’ उनी भन्छन् ।

‘राइड सेयरिङ’ व्यवसाय अहिले काठमाडौं केन्द्रितमात्रै छन् । नेपालमा भर्खर सुरुवात भएको यो व्यवसायले उपत्यकामा सर्वाधिक लोकप्रियता कमाउन सफल भएको छ । नेपालमा अहिले दुईवटा ‘राइड सेयरिङ’ व्यवसाय सञ्चालनमा छन्- टुटल र पठाओ ।

हाइपरलुप नेपाल प्रालिबाट सञ्चालित टुटल नेपालको पहिलो ‘राइड सेयरिङ’ एपमा आधारित छ । इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर शिक्षित भट्टले २०७३ पुसदेखि यो एप सञ्चालनमा ल्याएका हुन् । सुरूमा साझा यातायातको बस ट्रयाकिङका लागि यस्तै प्रकारको एप बनाइएकोमा पछि यसले टुटलको रूप लिएको उनको भनाइ छ ।

tootle-newskarobar

यस्तै टुटल जस्तै राइड सेयरिङको रुपमा फस्टाएको अर्को कम्पनी- पठाओ । यो पनि मोबाइल एपको माध्यमबाट राइड सेयरिङ सेवा दिने ‘स्टार्ट-अप’ कम्पनी हो । नेपालमा यसले २०७५ भदौदेखि औपचारिक रूपमा सेवा सुरू गरेको थियो ।

बंगलादेशको ढाकास्थित ट्रान्सपोर्टेसन नेटवर्क कम्पनीले सन् २०१५ मा यो एपमा आधारित सेवा प्रयोगमा ल्याएको थियो । छोटो समयमै लोकप्रिय भएपछि यसले नेपालमा पनि सेवा विस्तार गरेको हो । पठाओका निर्देशक असिममानसिंह बस्नेतले अमेरिकामा बस्ने केही नेपालीको लगानीमा यसको सुरुवात गरेका हुन् । पठाओ नेपाल प्रालिबाट सञ्चालित यो सेवा पनि हाल काठमाडौं उपत्यकामा सीमित छ ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु