गृहपृष्ठ स्थानीय अर्गानिक उत्पादन बेच्न कोसेली महोत्सव

स्थानीय अर्गानिक उत्पादन बेच्न कोसेली महोत्सव

दसैंको सन्दर्भ पारेर स्थानीय अर्गानिक उत्पादन र घरेलु तथा कुटिर उद्योगबाट उत्पादित वस्तुको व्यापार प्रवर्द्धन गर्न यहाँ आगामी असोज १० देखि १४ गतेसम्म कोसेली महोत्सव गरिने भएको छ । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौँ, स्वदेशी उत्पादनको प्रयोग गरौँ’ भन्ने नाराका साथ महिला उद्यम समिति, उद्योग संगठन मोरङ र नेपाल युवा उद्यमी मञ्च विराटनगरको संयुक्त आयोजना महोत्सव जैन भवनमा हुने भएको हो ।

महिलाद्वारा सञ्चालित उद्योगबाट उत्पादित वस्तुको बजार पहुँच, नयाँ उत्पादनबारे जानकारी, कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको विकास, अर्गानिक वस्तुको उत्पादन र उभोगमा जोड, महिला तथा युवामा उद्यमशीलताको विकासमा सघाउ पुर्‍याउने उद्देश्यले मेलाको आयोजना गरिएको महोत्सवका संयोजक मनोजविक्रम शाहले जानकारी दिए ।

औद्योगिक उत्पादन, हस्तकलाका सामग्री, सिलाइकटाइ वस्तु, जुत्ता चप्पल, ढाका तथा ऊनीका कपडा, शृंगारका साधन, घरायसी सामग्री, सूचना प्रविधि, अर्गानिक उत्पादन, स्थानीय समुदायका विभिन्न खानाका परिकार महोत्सवमा प्रदर्शन गर्न राखिने अर्का संयोजक गिरिजा सारडाले बताइन् । औद्योगिक, घरेलु तथा साना उद्योग र  खानाका गरी ११२ कक्ष रहने छन् । मेलामा ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । (रासस)

प्रकाशित समय ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु